क्योकुशिनकाईकान फुल कन्ट्याक्ट कराते सुरु

नेपाल आईकेओ क्योकुशिन काईकान कराते संघको आयोजनमा प्रथम राष्ट्रिय पुरुष तौल तथा खुला र महिला खुल्ला क्योकुशिन काईकान फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ४० केजी तौल समूहमा सर्लाहीका धर्मेन्द्र रामले विजयी सुरुवात गरेका छन् । उनले जनकपुरका प्रदीप कुमार यादवलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । यस्तै जनकपुरका दीपक कुमार मण्डलले सर्लाहीका सुदीप बि.क.लाई पराजित गरे । सर्लाहीका चान्सङ्ग गोलेले जनकपुरका विकास कुमार झा र सर्लाहीकै अजित भुजेलले जनकपुरका विश्व प्रताप यादवलाई पराजित गर्दै पहिलो चरण पार गरे । कास्कीका मिजास परियार र अमन पौडेलले सर्लाहीका अमन विवेक बि.क.र मिलन थापालाई पाखा लगाए । जनकपुरका श्रवण यादव र मो. अफताब खान पनि दोश्रो चरण प्रवेश गर्ने खेलाडीमा परे ।सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको ४५ केजी तौल समूहमा कृष्ण भण्डारी र राजाराम यादव तथा चितवनका अजित बुढाथोकी पनि दोश्रो चरणमा स्थान बनाउन सफल भए । भण्डारीले राजुराम तामाङ्ग र यादवले चितवनका संजीत शाहलाई तथा बुढाथोकीले चितवनकै सागर कंडेललाई पराजित गरेका थिए ।

एशिया र मिडलईष्टका प्रमुख सिहान पेटर च्योङ्ग र एशियन महासचिव एवं फिलिपिन्सका ब्रान्च चिफ सेन्सेई स्टिभिन फुको उपस्थितीमा भएको प्रतियोगिताको ५५ केजीमा दिपेन्द्र क्षेत्रीले जुनान लिम्बु र सोम बहादुर थापाले भुपेन्द्र वलीलाई पाखा लगाउंदै अघि बढे । ६५ केजीमा विकास गुरुङ्ग, अप्सन श्रेष्ठ, विश्व लामा, पुष्कर राउत तथा खुला तर्फ सनी सिंह सुनार पनि दोश्रो चरण प्रवेश गरे । प्रतियोगितामा पुरुष तर्फ ४०, ५०, ६०, ७० र खुल्ला गरि पाँच विधा र महिला तर्फ ४५ केजी र खुल्ला गरि दुइ विधाका साथ कुल ७ स्वर्ण पदककालागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरेका थिए । सवै भन्दा उत्कृष्ट, बलियो र अनुशासित खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको दुई दिने प्रतियोगितामा संघिय संरचना अनुरुप ७ प्रदेश र सेनाका पुरुष तर्फ १०६ र महिला तर्फ १९ गरि १२५ खेलाडीहरुको सहभागिता रहेको छ ।प्रतियोगितामा खुल्ला तर्फ विजयी पहिलो, दोश्रो र तेश्रो हुनेले नगद २५, १५ र ७ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै पुरुष तर्फको चार तौल समूहमा वियजी पहिलो, दोश्रो र तेश्रोले नगद १० हजार, ५ हजार र २ हजार ५ सय प्राप्त गर्ने छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ हजार ५ सय प्राप्त गर्ने अध्यक्ष राजु थापाले बताए । प्रतियोगिताका दौरान सेमिनार र बेल्ट टेष्ट पनि गरिने भएको छ ।

Comment