बन्द प्रशिक्षणकै खेलाडीको हार

dipesh dhami

अघिल्ला तीनै संस्करणकी विजेता नेपाल आर्मी क्लबकी सरादेवी तामाङ चौथो पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘बी’ को लिग खेलमा सराले सशस्त्र प्रहरी बलको एपीएतफ क्लबकी शिक्षा श्रेष्ठलाई २१–१३ र २१–१५ तथा नेपाल प्रहरी क्लबकी शोभा गौचनलाई २१–१२ र २१–८ को सोझो सेटमा पराजित गरिन् ।
सोही समूहबाट कास्कीकी पुनम गुरुङ पनि सेमिफाइनलमा स्थान बनाउन सफल भइन् । पुनमले शोभालाई २१–१३ र २१–७ तथा शिक्षालाई २२–२० र २१–१९ को सीधा सेटमा हराइन् ।
महिला सिंगल्सकै समूह ‘ए’ बाट आर्मीकी अमिता गिरी र नङशलदेवी तामाङले सेमिफाइनलमा स्थान पक्का गरे ।
अमिताले आर्मीकै अनु राईको चुनौती २१–११ र २१–१० ले पन्छाइन् भने नङशलले पनि अनुलाई नै हराउने क्रममा २१–१४ र २१–१० को नतिजा निकालिन् । अमिता र नङशल दुवैले इलामकी सुलोचना भक्तराजबाट वाक ओभर पनि पाए । महिला सिंगल्समा सहभागी ८ खेलाडीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।
नेपाल खेलकुद महासंघ र महासंघअन्तर्गतकै राष्ट्रिय ब्याडमिन्टन संघ नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष सिंगल्सको समूह ‘ए’ बाट डिफेन्डिङ च्याम्पियन आर्मीका रत्नजित तामाङ विजेता र एपीएफका सुदीप सेढाईं उपविजेता हुँदै क्वाटरफाइनलमा पुगे ।
रत्नजितले एपीएफका पंकज चन्दलाई २१–१४ र २१–१३ तथा सुदीपलाई २१–८ र २३–२१ ले पन्छाए । सुदीपले पंकजलाई २१–४ र २१–१६ ले निराश पारे ।
समूह ‘बी’ मा प्रहरीका विजित थापा मगरले एपीएफका साजनकृष्ण ताम्राकारलाई १६–२१, २३–२१ र २१–१५ ले हराउदै विजेता बने । यो समूहमा दुई प्रतिस्पर्धी मात्र भएकाले साजनको पनि क्वाटरफाइनल ढोका खुल्यो । तथापी एसियाडको क्लोज क्याम्पमा रहेका साजनको पराजयले क्लोज क्याम्पको प्रशिक्षण स्तर माथि नै प्रश्न चिन्ह खडा भएको छ । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य हर्कसिंह धामीले बन्द प्रशिक्षण र संलग्न प्रशिक्षकको स्तर माथि नै प्रश्न खडा भएको प्रतिक्रिया दिएका छन् ।

समूह ‘सी’ बाट आर्मीका दिपेश धामी विजेता र प्रहरीका विष्णु कट्वाल उपविजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरे ।
दीपेशले प्रहरीका दीपक बोहरालाई २१–१४ र २१–१४ तथा प्रहरीका विष्णु कट्वाललाई २१–१५ र २१–११ ले  पन्छाए । विष्णुले दीपकलाई २१–१२, १७–२१ र २१–१२ ले हराए ।
समूह ‘डि’ बाट आर्मीका विकास श्रेष्ठ र एपीएफका इन्द्र महताले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
विकासले प्रहरीका सन्जिव खड्कालाई २१–१२ र २१–६ तथा इन्द्रलाई २१–१२ र २१–१८ को सोझो सेटमा पाखा लगाए । इन्द्रले सन्जिवमाथि १३–२१, २१–१७ र २२–२० को जित रचे ।पुरुष सिंगल्समा १० खेलाडी सहभागी छन् ।
यु–१९ पुरुष सिंगल्समा आर्मीका नवीन श्रेष्ठ, सुनसरीका सुजन श्रेष्ठ, एपीएफका नीरविक्रम देवकोटा, आर्मीका अनिश श्रेष्ठ, कैलालीका गौतम कठायत, एपीएफका सुमन लिम्बू र वीरेन्द्र पुन तथा आर्मीका दीपेश धामीले क्वाटरफाइनल यात्रा तय गरे ।
महिला डबल्समा कास्कीकी पुनम गुरुङ र एपीएफकी शिक्षा श्रेष्ठ, आर्मीका अमिता गिरी र अनु राई, खोताङका दिलु सुब्बा र सुजा राई तथा आर्मीका दिदीबहिनी सरा र नङशलको जोडी सेमिफाइनलमा पुगे ।
तीनदिने प्रतियोगितामा जम्मा १ सय ८१ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Comment