श्रीभक्तलाई रनिङ्ग शिल्ड

bhakta final
तेश्रो शिवभक्त स्मृती भक्तपुर जिल्लाव्यापी व्याडमिन्टन प्रतियोगिताको रनिङ्ग शिल्ड श्रीभक्त व्याडमिन्टन क्लबले खोसेको छ । दुई संस्करणको विजेता भक्तपुर व्याडमिन्टन क्लबलाई हराउंदै श्रीभक्तले उक्त शिल्डमा आफ्नो नाम लेखाएको हो ।
व्यासि क्लबको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको पुरुष टिम ईभेन्ट्सको फाइनल खेलमा श्रीभक्त व्याडमिन्टन क्लबले २–० को जित हात पार्दै भक्तपुरलाई पराजीत गर्यो । टिम ईभेन्ट्स अन्तरगतको पहिलो एकल खेलमा श्रीभक्तका राजु बज्राचार्यले भक्तपुरका पूर्णबहादुर थापालाई २१–११ र २१–१६ले पराजित गरे । सोही ईभेन्ट्सको पुरुष जोडीको खेलमा श्रीभक्तका राजु बज्राचार्य र सुनिल वाराहीको जोडीले भक्तपुरका पूर्ण थापा र लक्ष्मी नारायण सुवालको जोडीमाथी २२–२४, २१–११ र २१–१२को कठिन जित हात पार्न सफल भयो ।
एक हप्ते प्रतियोगिताको भेट्रान्स जोडीको खेलमा श्रीभक्तका सानु बाबु महर्जन र नरेश ताम्राकारको जोडीले आफ्नै क्लबका कपिल शिल्पकार र मदन गुरुङ्गको जोडीलाई २१–१४ र २१–७ले पराजित गर्दै प्रथम स्थान हात पार्न सफल भए ।
विजयी खेलाडीहरुले ट्रफी, मेडल, प्रमाण पत्रका साथै नगद क्रमश प्रथमले १०, द्वितीयले ७ र तृतीयले ४ हजार नगद प्राप्त गरे । सो अवसरमा भक्तपुरका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं संविधान सभाका सभासद् नारायणमान विजुक्छे र विशेष अतिथी नेपाल व्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

Comment