वादोरियो टोली श्रीलंका प्रस्थान

bado edited
दोश्रो वादो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गरेको छ ।
जनवरी १७ देखि १९ तारिखसम्म श्रीलंकाको रत्नपुरामा हुने च्याम्पियनसिपको पुरुष ५५–६० केजीमा तेजबहादुर गुरुङ तथा ५०–५५ केजीमा लक्ष्मण तामाङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । तेजबहादुर पहिलो संस्करणका स्वर्ण विजेता हुन् । लक्ष्मणले पनि दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितिसकेका छन् ।
टोलीको नेतृत्व नेपाल वादोरियो कराते डो संघका प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले गर्नेछन् । केसी दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष समेत हुन् ।
श्रीलंकाको सोही स्थानमा भएको पहिलो संस्करणमा सहभागी २३ राष्ट्र मध्ये नेपाल ६ स्वर्ण, २ रजत र १ कांस्यसाथ तेश्रो भएको थियो । दोश्रो संस्करणमा करिब २९ राष्ट्रको सहभागिता रहने केसीले जानकारी गराए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

Comment