हरि रोकाया गजराज जोशी सम्मानबाट सम्मानित हुने


गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार रशियन कल्चर सेन्टरमा आयोजना गर्न लागिएको एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी सम्मान कार्यक्रममा रोकायालाई उक्त सम्मानद्वारा सम्मानित गर्न लागिएको सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सम्मान कार्यक्रम संयोजक एवं नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका सदस्य दीपक थापाले जानकारी गराए । स्व. गजराज जोशी फाउन्डेशनद्वारा स्थापित गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मान नगद २५ हजार सहित ट्रफी र ब्यानेटबाट हरिबहादुर रोकायालाई सम्मानित गर्न लागिएको खेलाडी संघका अध्यक्ष दीपक बिष्टले सम्मेलनमा जानकारी गराए । बर्ष खेलाडी सम्मान कार्यक्रममा १२ औं सागमा समावेश गरिएका खेलहरुलाई आधार मानी समावेश गरिएका खेलका राष्ट्रिय संघहरुले उत्कृष्ट खेलाडीको रुपमा छनोट गरि सिफारिस गरिएका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले सम्मान गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले १० औं एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम आयोजना गर्दै आईरहको संघका महासचिव दीपक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए । विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित आयोजना गरिने सम्मान कार्यक्रममा सम्मानित हुने विभिन्न खेलका व्यक्तित्वहरुमा भारोत्तोलनका विकाश थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी र तेक्वान्दोका वीर बहादुर महरा रहेका छन् । यसैगरी, कुस्तीका सरोज यादव, आर्चरीका प्रेम प्रसाद पुन, स्क्वासका अरहान्त सिंह, बक्सिङ्गकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्गशल देवी तामाङ्ग, जुडोकी फुपुल्हामु खत्री, सुटिङ्गकी स्नेहा राज्यलक्ष्मी राणा, साईक्लिङ्गका अजय पण्डित, ट्राईयाथलनकी रोजा के.सी., कबड्डीका शान्ति मल्ल, लनटेनिसका अभिषेक बास्तोला रहेका छन् । यस्तै हक्कीकी कुश्मा रानामगर, खोखोकी अर्पणा कुमारी महतो, पौडीकी गौरिका सिंह, उसुकी नीमा घर्ती मगर, टेबल टेनिसका दीप साउन, ह्याण्डबलकी रञ्जना राई र एथलेटिक्सकी हरिकुमार रिमाल पनि सम्मानित हुने भएका छन् ।
खेलाडीहरुलाई ट्रफीका साथै नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको तर्फबाट नगद ५ हजार र मनोनित खेलका राष्ट्रिय संघको तर्फबाट नगद ५ हजार गरि नगद १० हजारका साथै ट्रफी र ब्यानेटले सम्मान गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

Comment