स्क्वासमा भावना र विपना उपाधि भिडन्तमा
सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत ललितपुरको सातदोबाटोमा जारी स्क्वासको महिला सिंगल्समा मध्यमाञ्चलकी भावना सुनवार र आर्मीकी विपना ब्लोन बुधबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा भावनाले आर्मीकी स्वस्थानी श्रेष्ठ तथा विपनाले आर्मीकै कृष्णा थापालाई समान ३–० को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा आर्मीका अरहान्तकेशर सिंहले प्रहरीका काशीराम भण्डारीलाई ३–०, आर्मीका अमृत थापा मगरले मध्यमाञ्चलका सुगम तुल्सानलाई ३–० तथा मध्यमाञ्चलका विनोदरत्न शाक्यले मध्यमाञ्चलका प्रज्ज्वलप्रकाश प्रधानलाई ३–१ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । मध्यपश्चिमाञ्चलकी ज्ञानु चौधरीले मध्यमाञ्चलका सुदीपबहादुर सिंहबाट वाक ओभर पाउदै सेमिफाइनलमा पुग्न सफल भए ।