राष्ट्रपतिद्वारा राष्ट्रिय खेलकुदको एक भब्य समारोहबीच उद्घाटन


नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता सातौं राष्ट्रिय खेलकुद– २०७३ को राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चलको विराटनगरस्थित शहिद रंगशालामा आयोजित एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिन् ।
उद्घाटन समारोहमा सहभागी टिमहरुले मार्च पास्ट गरेका थिए । सहभागी टिम मध्ये मध्यमाञ्चल मार्च पास्टमा सुरुमा आएको थियो भने अन्तिममा पूर्वाञ्चलको टिमले मार्च पास्ट गरेको थियो । पूर्वाञ्चलका विभिन्न २४ जनजातीको पहिचान झल्किने झाँकी प्रस्तुत गरिएको थियो । गायक सुमित खड्का र प्रास्णा शाक्यले सातौं राष्ट्रियको ‘खेलाडी हौं, खेलाडी हौं, हामी खेलाडी’ बोलको गीत गाएका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए । युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले सातौं राष्ट्रिय खेलकुदको झण्डोलोत्तोलन गरेका थिए । खेलाडीको तर्फबाट सुटिङ खेलाडी टीकाराम श्रेष्ठ तथा निर्णायकको तर्फबाट बक्सिङका अनुप लामाले शपथ ग्रहण गरेका थिए ।
त्यस्तै १९८० को मस्को ओलम्पिकको बक्सिङमा सहभागी पूर्वाञ्चलका नरेन्द्र पोमोले ओलम्पिक टर्चले दीप प्रज्ज्वलन गरेका थिए । छैटौं राष्ट्रिय खेलकुद भएको सुदूरपश्चिमाञ्चको धनगढीबाट विभिन्न संस्करणमा सहभागी नेपाली ओलम्पियनहरुले विराटनगरस्थित शहिद रंगशालामा ल्याएको ओलम्पिक टर्चबाट दीप प्रज्ज्वलन गरिएको हो । शंगशाला प्रवेश गर्दा सुरुमा ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादकुर केसीले टर्च ओलम्पियन सुनीललाल जोशीलाई हस्तान्तरण गरेका थिए । त्यसपछि टर्चलाई ओलम्पियनहरुले रंगशालाको तीन चक्कर लगाएका थिए । अन्तिममा ओलम्पियन पुष्पराज ओझाले नरेन्द्र पोमोलाई टर्च हस्तान्तरण गरेपछि नरेन्द्रले दीप प्रज्ज्वलन गरेका हुन् । दीप प्रज्ज्वलनसंगै उद्घाटन समारोह औपचारिक रुपमा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बृहत खेलकुदले खेल क्षेत्रमा परिर्वतन हुनुका साथै नयाँ प्रतिभाको पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
खेलकुद मन्त्री दलजित विके श्रीपाइलीलले संघियता कार्यन्वयनसंगै हरेक प्रदेशमा रंगशाला निर्माण गर्ने योजना रहेको बताउदै राष्ट्रिय रेकर्ड कायम गर्ने खेलाडीलाई सरकारले विशेष सम्मान गर्ने बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रिय एकताका रुपमा रहेको खेलकुद क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनु पर्नेमा जोड । पुस १५ गतेसम्म चल्ने सातौं राष्ट्रियमा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका ३ हजार ९ सय ७२ खेलाडीले २९४ स्वर्ण, २९४ रजत र ४४७ कांस्य गरी जम्मा १०३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रियमा विभिन्न ३० खेल समावेश छन् । ३५ खेल समावेश भएपनि शारीरिक सुगठन, पौडी र ट्रायथलन सम्पन्न भइसकेको छ । एथलेटिक्सतर्फ पुरुष÷महिलाको म्याराथन पनि भइसकेको छ । गोल्फ र स्नुकर सम्बन्धित संघलाई सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ । पूर्वाञ्चलमा पहिलो पटक बृहत खेलकुदको भएको हो ।
पहिलोदेखि छैटौं संस्करण ः
२०३८– काठमाडौं
२०४०– पोखरा
२०४२–विरगञ्ज
२०५५– नेपालगञ्ज
२०६५– काठमाडौं
२०६८– धनगढी

Comment