नङ्सल र रत्नजित सम्मानित

ratna-and-nangsale
जेष्ठ ब्याडमिन्टन एकेडेमी बसुन्धराले पाकिस्तानमा स्वर्णपदक जित्न सफल खेलाडी दिदी नङ्सल देवी तामाङ र भाई रत्नजित तामाङलाई सम्मानित गरेको छ ।
एकेडेमीले शनिबार एक कार्यक्रमको आयोजना गर्दै स्वर्ण जित्न सफल खेलाडीलाई नगदसहित सम्मानित गरेको हो । स्वर्ण विजेता खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामी बहादुर श्रेष्ठ, जेष्ट ब्याडमिन्टन एकेडेमीका अध्यक्ष मधुसुदन पाठक र एकेडेमीका तालिम संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी सुदिप योन्जन लगायतले सम्मानित गरेका थिए ।
नङ्सल र रत्नको जोडीले पाकिस्तानमा सम्पन्न योनेक्स सनराइज इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा स्वर्ण जित्न सफल भएको थियो । जुन नेपाली ब्याडमिन्टनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो । यस्तै ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले संघले नै यस्तो कार्य गर्नुपर्नेमा जेष्ट ब्याडमिन्टनले सम्मान गरेर खेलाडीहरुमा हौसला थप्ने काम गरेको बताए । ‘नेपाली ब्याडमिन्टन खेलाडीले पनि अन्तराष्ट्रिय स्तरमा पदक जित्न सक्छ भन्ने सन्देश दिदी भाईको जोडीले देखाएको छ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘हामीले पनि छाती फुलाउने मौका पायौ । निरन्तरको मिहेनतले अब डबल्समा मात्र हैन सिङ्गल्समा पनि पदक जित्न सक्छ भन्ने सन्देश खेलाडीले देखाएको छ । यसको तयारीका लागि संघ जस्तोसुकै प्रशिक्षणको लागि तयार छ ।’ यस्तै एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले अन्तर्राष्ट्रिय स्तरमा पहिलोपटक स्वर्ण जित्न सफल खेलाडीलाई सम्मानित गर्न पाउदा ज्यादै खुशी लागेको बताए । ‘खेलाडीहरुको मनोवल बढोस भनेर हाम्रो यो सानो सम्मान हो ।’ पाठककले भने, ‘स्थापनाको छोटो समयमा पदक जित्न सफल खेलाडीलाई सम्मान गर्न पाउनु पनि एकेडेमीको लागि ठुलो कुरा हो ।’ सम्मानित भएपछि नङ्सलदेवी तामाङले यस्तो खालको सम्मानले खेलमा अझै उत्प्रेरणा मिल्ने बताईन् ।
रत्नजित तामाङ अघिल्लो महिना सम्पन्न प्रथम जेष्ट खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपको पनि विजेता हो । एकेडेमी करिव दुईमहिना अघिबाट सञ्चालनमा आएको हो ।

Comment