रजत विजेता विमल सम्मानित

bimal cash prize
छैटौं विश्व शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिट्नेस फिजिक्समा रजत जितेका विमललाल श्रेष्ठ शुक्रबार नगदसहित सम्मानित भए ।     त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को दशरथ समिक्षालयमा भएको कार्यक्रममा विमललाई नगद ८० हजार र सम्मानपत्र प्रदान गरी सम्मान गरियो ।
विमललाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले २० हजार, सामसुङ कम्पनीले ५० हजार, शारीरिक सुगठन संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थ, महासचिव दिनेश राजभण्डारी तथा सदस्यद्वय ईश्वर श्रेष्ठ र सुनील राजकर्णिकारले मिलेर १० हजार नगद पुरस्कार प्रदान गरे ।
राखेप सदस्य–सचिव युवराज लामा, आईएमएस सामसुङ स्मार्ट फोनका प्रबन्ध निर्देशक संजिव मिश्र, शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थले विमललाई नगदसहित सम्मान पत्र प्रदान गरे ।
भारतको मुम्बइमा मंसिर १९ देखि २४ गतेसम्म भएको उक्त च्याम्पियनसिपको फिट्नेस फिजिक्सअन्तर्गत पुरुषको १ सय ७० सेन्टीमिटर उचाइसम्मको स्पर्धामा विमलले नेपाललाई रजत दिलाएका थिए ।
च्याम्पियनसिपमा भने नेपालबाट तीन खेलाडीले सहभागिता जनाएका थिए । पुरुषको ५५ केजीमा रुजेश शाही, ६० केजीमा रामहरि खनाल तथा ७० केजीमा मिस्टर धर्मश्री विजेता महेश्वर महर्जनले प्रतिस्पर्धा गरेका थिए ।
प्रिजजिङ राउन्ड पारा गरेकामिस्टर हिमालय उपाधि विजेता रामहरि भने फाइनलमा चौथो भएका थिए । रुजेश र महेश्वर प्रिजजिङ राउन्डबाटै बाहिरिए । रुजेश छैटौं र महेश्वर सातौं भए ।
कार्यक्रममा सदस्य–सचिव लामाले पदक विजेता विमललाई प्रोत्साहन स्वरुप उचित नगद पुरस्कारका लागि सिफारिस गर्ने प्रतिबद्धता जनाए । सम्मानित विमलले मुलुकलाई ऐतिहासिक पदक दिलाउन पाएकोमा गर्व लागेको धारणा राखे ।

Comment