ओलम्पिक सहभागीतालाई व्यवस्थित बनाउँदै एनओसी

नेपाल ओलम्पिक कमिटीले ५ अगष्टदेखि २१ अगस्टसम्म ब्राजिलको रियोमा हुने ओलिम्पक खेलमा सहभागीताका लागि तयारी देखि प्रशिक्षणलगायतको अवलोकन तथा अनुगमन गर्ने जिम्मेवारी एनओसीका सदस्य निलेन्द्रराज श्रेष्ठलाई दिएको छ ।शुक्रबार एनओसीको भवनमा रियो ओलम्पिकमा सहभागी ५ खेलका ७ खेलाडी, प्रशिक्षक र सम्बन्धीत संघका प्रतिनिधिसँगको बैठकले व्यवस्थित र प्रभावकारी तयारीका साथ ओलम्पिकमा सहभागी गराउने विषयमा छलफल गरिएको छ ।
एनओसीले ओलम्पिकमा सहभागिताका लागि हालसम्म छनोट खेलाडीलाई  फर्म भरेर खेलाडी कहाँ के गरिरहेका छन् भनेर अनुगमन समेत नियमित रुपमा गरिने निर्णय भएको छ । ओलम्पिकमा सहभागी हुने खेलाडीको हालसम्मको प्रशिक्षण, प्रशिक्षण सामाग्री, स्वास्थ्यस्थितिलगायतको विषयमा समेत नियमित रुपमा प्ररिक्षण गरिने भएको छ । ओलम्पिकमा सहभागी हुने डाक्टर सरोजकृष्ण श्रेष्ठको समेत उपस्थिति रहेको थियो । स्वस्थ र स्वच्छ रुपमा ओलम्पिकमा खेलाडी सहभागी गराउने उद्देश्यले एनओसीले समयमा खेलाडीमा ध्यान केन्द्रित गर्न लागेको हो ।
रियो ओलम्पिकमा वाइल्डकार्डमार्फत सहभागी हुने निश्चित भएकी तेक्वान्दोकी निशा रावल, जुडोकी फुपु ल्हामी खत्री यतिबेला वैदेशिक प्रशिक्षणमा छन् । खत्री १४ जुनमा स्वदेश फिर्ता हुँदै छिन् । अन्य खेलाडीहरुले भने नेपालमा नै प्रशिक्षण लिइरहेका छन् । आर्चरीका जितबहादुर मोताङ , एथलेटिक्सका सरस्वती भट्टराई र हरिकुमार रिमाल, पौडीका शिरिष गुरुङ र गौरिका सिंह रहेका छन् । गौरिका लन्डनमा रहेकी छन् । त्यसैगरि रियोमा सहभागी हुने सम्बन्धित खेलका प्रशिक्षकहरुलाई समेत विशेष जिम्मेवारीबोध गराउने उद्देश्य ओलम्पिकले लिएको छ । रियोमा सहभागी हुने प्रशिक्षकहरुमा तेक्वान्दोतर्फ संगिना बैद्य, एथलेटिक्सतर्फ पुष्पराज ओझा, पौडीतर्फ ईश्वर कार्की, आर्चरीतर्फ दीपक गुरुङ र जुडोतर्फ देवु थापा रहेका छन् ।

Comment