प्याब्सन स्पोर्टस्मा पहिलो दिन फुटबल

पोखरा
प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा यही २५  मङ्सिर देखि २ पुससम्म पोखरामा सञ्चालन हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत सिनियर तथा जुनियर फुटबलका खेल शुक्रबारदेखि प्रारम्भ हुँदैछन् ।
हेमजाको विष्णुपादुका र गौरीशंकर खेलमैदानमा हुने जुनियर फुटबल प्रतियोगितामा ६९ विद्यालयको सहभागिता रहेको छ भने अञ्चल प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी गणको खेलमैदानमा सञ्चालन हुने सिनियर फुटबलमा ६८ विद्यालयको सहभागिता रहेको छ ।
जुनियर फुटबलअन्तर्गत शुक्रबार १२ खेल हुनेछन्। जसअनुसार विष्णुपादुका खेलमैदानमा छ तथा गौरीशंकर खेलमैदानमा छ खेल हुने फुटबल प्रतियोगिता संयोजक जगत थापाले जानकारी दिए । यस्तै सिनियर फुटबल अन्तर्गत १० खेल हुनेछन ्। जसअनुसार अञ्चल प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी गणमा पाँच–पाँच खेल हुनेछन्। फुटबलमा टीम धेरै भएकोले शुक्रबारदेखि नै खेल सञ्चालन गर्नुपरेको प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले जानकारी दिए ।
कुल २६ स्वर्ण, २६ रजत तथा २६ कास्यपदकको लागि एक हप्तासम्म प्रतिस्पर्धा हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ मा प्याब्सन कास्कीसँग आवद्ध एक सयमध्ये ९१ वटा विद्यालयको सहभागिता रहेको छ ।
जुनियर लेभलदेखि खेलाडी उत्पादन गर्ने सर्तमा यसपटकदेखि जिल्ला खेलकुद विकास समिति कास्कीले सम्पूर्ण खेलको लागि खेलसामग्री निःशुल्करूपमा उपलब्ध गराएकोे छ। प्रतियोगिताको औपचारिक उद्घाटन भने २५ मङ्सिरमा  पोखरा रड्डशालामा हुनेछ ।

Comment