प्यासिफिक करातेका लागि खेलाडी छनोट पूरा

karate team
चौधौं एसियाली प्यासिफि सितोरियो कराते च्याम्पियनसिपका लागि नेपाल सितोरियो कराते संघले विभिन्न १५ स्पर्धामा १९ खेलाडी बिहीबार छनोट गरेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताको आ–आफ्नो स्पर्धामा पहिलो भएका १० पुरुष र ९ महिला गरी १९ खेलाडी सिंगपुरमा डिसेम्बर १० देखि १५ तारिखसम्म हुने उक्त च्याम्पियनसिपका लागि छनोट भएका हुन् ।
पुरुषको ५५ केजीमा नेपाल प्रहरीका सोनाम लामा पहिलो भए । उनले एपीएफका विजय लामालाई १४–५ ले पराजित गरे । ६० केजीमा एपीएफका सुनील लामाले नेपाली सेनाका सनी चौलागाईंलाई १०–२ ले हराउदै पहिलो स्थान हात पारे । ६७ केजीमा एपीएफका मोहन कार्कीले मुकुन्द्र महर्जनको चुनौती १०–२ ले समाप्त पार्दै शीर्ष स्थान हात पारे ।७५ केजीमा नेपाल प्रहरीका दिनेश श्रेष्ठ पहिलो भए । उनले एपीएफका वीरबहादुर रनेनीलाई ११–२ ले पाखा लगाए । ८४ केजीमुनि एपीएफका भीमबहादुर तामाङले नेपाल प्रहरीका विप्लव श्रेष्ठलाई १४–११ ले हराउदै शीर्ष स्थान कब्जा गरे । ८४ केजीमाथिएपीएफका डिगम्बरप्रसाद पन्तले आफ्नै क्लबका लालबहादुर बडुवाललाई १३–८ ले निराश पार्दै पहिलो भए ।
पुरुषकै एकल कातामा प्रहरीका मन्डेकाजी श्रेष्ठले विश्वविद्यालयका पर्शुराम बाँस्तोलालाई ३–२ ले हराउदै पहिलो बने । टिम कातामा सेनाका सुवास कार्की, डम्बर आले र सानुकुमार रुम्बा पहिलो भए ।
महिलातर्फ ५० केजीमा एपीएफकी अनु अधिकारीले प्रहरीकी रोशनी खड्गीलाई ७–४, ५५ केजीमा प्रहरीकी मल्लिका थापाले प्रहरीकै कोपिला विष्टलाई ६–४ तथा ६१ केजीमा सेनाकी सनी तामाङले एपीएफकी सपना लामालाई ४–२ पराजित गर्दै शीर्ष स्थानमा रहे ।
महिलाको ६८ केजीमुनि सेनाकी विभूषा थापाले बालाजु एकेडेमीकी अनुपमा मगर तथा ६८ केजीमाथि सेनाकी रिता कार्कीले विश्वविद्यालयकी सरिता श्रेष्ठलाई पाखा लगाउदै पहिलो भए । संयोगवश दुवै सुपेरिएरिटीका आधारमा विजयी हुँदा निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो ।
महिलाकै एकल कातामा प्रहरीकी चन्चला दनुवारले प्रहरीकै निर्मला तामाङलाई ५–१ ले निराश पार्दै पहिलो भइन् । टिम कातामा मध्यमाञ्चलका सुभद्रा श्रेष्ठ, संगीता डंगोल र सुनीता लामा पहिलो भए । उक्त टोलीले १७ औं एसियाडमा नेपाललाई एक्लो पदक दिलाएकी सेनाकी विमला तामाङ सम्मिलित कृपा गुरुङ र ज्योति घलेको टोलीलाई ४–१ ले पछि पा¥यो । एकदिने छनोटमा ९७ खेलाडीले सहभागिता जनाएको आयोजक संघले जनाएको छ ।

Comment