प्याब्सन पौडीमा निसर्ग बाटिकालाई पहिलो स्थान

नेपाल पौडी सङ्घ र प्याब्सनको संयुक्त आयोजनामा भएको दोस्रो अन्तर विद्यालय उमेर समूह प्याब्सन कप पौडी प्रतियोगिता आइतबार सम्पन्न भयो । प्रतियोगितामा निसर्ग बाटिका स्कुल पहिलो भयो । दुई दिने सो प्रतियोगितामा जेम्स स्कुल दोस्रो तथा ब्रिटिस स्कुल तेस्रो भयो ।
छात्र तर्फको १५ देखि १७ वर्ष उमेर समूहमा जेम्सका कल्किन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । छात्रा तर्फ काव्य स्कुलका सेरेन अवाले उत्कृष्ट खेलाडी घोषित भइन् ।
छात्र १३ र १४ वर्ष उमेर समूहमा जेम्सका मयुन श्रेष्ठ तथा छात्रा तर्फ न्यु मिलिनियमकी प्रज्ना ताम्रकार उत्कृष्ट खेलाडी भए । ११ र १२ वर्ष उमेर समूहमा छात्रा तर्फ देबासी जोशी तथा छात्र तर्फ निसर्ग बाटिकाका निरभ सुबेदी उत्कृष्ट खेलाडी घोषित भए ।
१० वर्ष मुनिको उमेर समूहमा छात्रा तर्फ सेन्ट मेरिजकी राइजा अवाले तथा छात्र तर्फ मिल्सबेरी स्कुलका बिभान राज मास्के उत्कृष्ट खेलाडी भए । ८ वर्ष मुनिको समूहमा डिएभी स्कुलकी जियाना महर्जन छात्रा तर्फ उत्कृष्ट खेलाडी भइन् । सोही उमेर समूहको छात्र तर्फ सोही विद्यालयका रज्भिन जिरेल उत्कृष्ट खेलाडी भए ।
विजयी टोली तथा खेलाडीलाई प्याब्सनका उपाध्यक्ष रबिन शर्माc पौडी सङ्घका अध्यक्ष जगत मान श्रेष्ठ प्रतियोगिताका संयोजक दिलीप वैद्य र प्याब्सन उपाध्यक्ष सङ्गीता सिलवाल लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा ७५ विद्यालयका ३०३ खेलाडीको सहभागिता थियो ।
