विश्व चिल्ड्रेन बेसबलमा भाग लिने नेपाली टोलीलाई एनओसीको बिदाइ

Manoj Shiama
28 July, 2026 5:55 am

काठमाडौँ, साउन ११ गते । जापानको नारितामा हुने ३२ औँ विश्व चिल्ड्रेन बेसबल महोत्सव २०२६ मा नेपालले पनि सहभागिता जनाउने भएको छ । 

वर्ल्ड बेसबल सफ्ट बल महासङ्घ र वर्ल्ड चिल्ड्रेन बेसबल फाउन्डेसनको संयुक्त आयोजनामा जुलाई ३० देखि अगस्ट ७ तारिखसम्म हुने बेसबल महोत्सवमा भाग लिने पाँच खेलाडी छ सदस्यीय नेपाली टोलीको सोमबार नेपाल ओलम्पिक सङ्घ (एनओसी)ले शुभकामनासहित बिदाइ गरेको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एनओसी भवनमा आयोजित बिदाइ कार्यक्रममा सानै उमेरमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा खेलाडीहरूलाई बधाई दिए । 

नेपाली टिममा अभिनव श्रेष्ठ, भूमिका खड्का, खुसी श्रेष्ठ, सङ्कल्प पौडेल र युएल रोका हुनुहुन्छ । यसै गरी प्रशिक्षकमा विपिन बज्राचार्य छन् ।

 बिदाइ कार्यक्रममा एनओसीका महासचिव राजीव श्रेष्ठ, सह महासचिव रामजीबहादुर श्रेष्ठ, सचिव रामकृष्ण श्रेष्ठ, पूर्व उपाध्यक्ष तेजबहादुर गुरुङका साथै नेपाल बेसबल तथा सफ्ट बल सङ्घका अध्यक्ष दीपक न्यौपाने, महासचिव प्रदीप शाह र सदस्य प्रशान्त दाहालको पनि उपस्थिति रहेको थियो ।