सिग्देलले जिते बाघचालको उपाधि

नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित ’“प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बाघचालको उपाधि कृष्ण प्रसाद सिग्देलले जितेका छन् । सो स्पर्धामा विपिन अमात्य दोस्रो तथा इन्द्र बस्नेत तेस्रो भए । ६ खेल रहेको महोत्सव अन्तरगतका बाघचाल, टग अफ वार र बुद्धिचाल सकिएका छन् ।
टग अफ वारमा पहिलो भएको टिम जेन्जीमा सन्देश बस्नेत, राजु बस्नेत, रबिन खड्का, सन्तोष धामी, रिवाज नेपाल, सौजन्य कोइराला, राहुल थारु, र जयस खनाल समावेश थिए । सो खेलमा टिम सगरमाथा दोस्रो तथा माउन्ट एभरेस्ट तेस्रो भयो ।

विजयी टोली तथा खेलाडीलाई नेपाल उसु महासङ्घका महासचिव नवराज ढुगानाले पुरस्कार वितरण गरे ।
नेपालको मौलिक बौद्धिक खेलका रूपमा परिचित बाघचाल नेपाली समाजमा शताब्दीयौँदेखि खेलिँदै आएको रणनीतिक खेल बाघचालमा २६ खेलाडीको सहभागिता थियो ।
ग्रामीण बस्तीदेखि मठमन्दिर, चौतारा र सार्वजनिक स्थलसम्म लोकप्रिय रहेको बाघचाल पछिल्ला वर्षहरूमा आधुनिक खेल र प्रविधिको प्रभावसँगै ओझेलमा पर्दै गएको छ ।
यही मौलिक खेलको ऐतिहासिक महत्वलाई पुनर्जीवित गर्दै यसको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय स्तरमा मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिताअन्तर्गत बाघचाललाई समावेश गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक सम्पदासँग जोड्नुका साथै नेपाली मौलिक खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ । प्रतियोगितामा पहिलो हुनेले ७ हजार, दोस्रो हुनेले ५ हजार तथा तेस्रो हुनेले ३ हजार रुपैयाँ पाए ।
नेपालमा लोकप्रिय रहेको बुद्धिचालमा पाँचथरका प्रतिभाशाली खेलाडी रिसन थापा पहिलो हुँदा दोलखाका आशिष फुयाँल दोस्रो भए । सुमन मोक्तान तेस्रो तथा पुरुषोत्तम सिलवाल चौथो भए । राजेन्द्र प्रसाद श्रेष्ठ पाँचौँ भए ।
शैलेन्द्र न्यौपाने, मुहान नरसिंह श्रेष्ठ, सन्देश श्रेष्ठ, गणेश अवाले र सुरोज महर्जन शीर्ष १० मा अटाए ।
