हिमालयन बक्सिङको तयारी

नेपालय इन्टरनेसनलको आयोजनामा हिमालय बक्सिङ (अन्नपूर्ण सिरिज) मार्चमा गर्ने भएको छ । मिति भने पछि तय गर्ने नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले जनाएका छन् ।
प्रतियोगितामा प्रोफेसनल र एमेच्योरतर्फ प्रतिस्पर्धा हुनेछ । प्रोफेसनलको पुरुषमा ६ तथा महिलामा २ स्पर्धामा भिडन्त हुनेछ । एमेच्योरको पुरुष÷महिलामा समान २–२ तौल समूहमा खेल हुनेछ । हरेक स्पर्धामा २ खेलाडीबिच प्रतिस्पर्धा हुनेछ ।
अध्यक्ष प्रधानका अनुसार कुल पुरस्कार राशि करिब २० लाख रुपैयाँ रहेको छ । नेपाल बक्सिङ महासङ्घको स्वीकृति तथा बक्समान्डुको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भुटान र अमेरिकाका खेलाडी हुने बताइएको छ ।
खेलहरू ठमेलस्थित क्लब नोभामा खेलाइने छ । क्लब नोभा प्रतियोगिताको ‘भेन्यु पार्टनर’ का रूपमा रहेको छ । त्यसका लागि नेपालयका अध्यक्ष प्रधान र नोभाका संस्थापक निर्देशक मुखिया घलेबिच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नेपालयले यसअघि प्रधानमन्त्री कप पुरुष क्रिकेट र यु–१४ विद्यालय खेलकुद आयोजनामा पनि सहकार्य गरेको थियो ।
