पहिलो महिला क्लब साफ च्याम्पियनसिप उपाधि भिडन्तका लागि एपिएफ र इस्ट बङ्गाल तयार

काठमाडौँमा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलका लागि एपिएफ एपीएफ र इस्ट बङ्गाल तयार देखिएका छन् ।
शुक्रवार आयोजित प्रि–म्याच प्रेसमा दुवै टोलीका कप्तान र प्रशिक्षकले फाइनलका लागि तयार रहेको बताएका हुन् । फाइनल खेल शनिवार साँझ ५ बजे दशरथ रङ्गशालामा सुरु हुँदै छ ।
एपिएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि तयार रहेको बताइन् । ‘हामी फाइनलका लागि तयार छौँ । सबै तयारी भइसकेको छ । इस्ट बङ्गालको सामना गर्न तयार छौँ’ उनले भनिन्, ‘ हामीले क्लब मात्र होइन, देशको पनि प्रतिनिधित्व गरिरहेका छौँ अनि पहिलो पटक उपाधि जित्नका लागि उत्साहित पनि छौँ । ’

यस्तै प्रशिक्षक जिवेश पाण्डेले पनि कमजोरीहरू सुधार गरेर आउने बताएका छन् । ‘कमजोरीलाई सुधार गरेका छौँ । ट्रेनिङमा पनि त्यही अनुसार काम भएको छ’ उनले भने, ‘इस्ट बङ्गाल धेरै राम्रो टिम हो । राम्रो खेलेर उपाधि जित्ने प्रयास गर्नेछौँ । ’ यस अघिका खेलमा फिनिसिङमा कमजोर एपिएफले दुई सेसन त्यसै कमजोरी सुधार्न आफूलाई केन्द्रित गरेको पनि पाण्डेले बताए ।
यस्तै इस्ट बङ्गालका प्रशिक्षकले पनि एपीएफ राम्रो टिम भएको र अघिल्लो खेलको जस्तो गल्तीहरू फाइनलमा नगर्ने बताएका छन् । ‘दुवै टिमका लागि नथिङ टु लूज गेम हो । हामी हाम्रोतर्फ वेस्ट दिनेछौँ’ उनले भने ।
कप्तानले पनि फाइनलमा राम्रो प्रतिस्पर्धा हुने र नेपाललाई दर्शकको साथले फाइदा पुग्न सक्ने बताउँदै कुनै दबाब नलिईकन खेल्ने बताइन् ।
इस्ट बङ्गालले लिग चरणमा चार मध्ये तीन खेल जितेको थियो भने एक खेल बराबरी खेलेको थियो । यता एपिएफले दुई खेल जित्दा दुई खेल बराबरी खेलेको थियो ।
एपीएफ र इस्ट बङ्गाल फाइनलअघि आफ्नो अन्तिम लिग खेलका भिडेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।
दुवैले फाइनल यात्रा सम्म अपराजित रहँदा इस्ट बङ्गालले १३ गोल गरेको छ भने एपिएफले ५ गोल गरेको छ ।
