लुम्बिनी एनपिएलको फाइनलमा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रन बनाएर अलआउट भयो । टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको थियो
विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीका लागि तिलक भण्डारीले तीन विकेट लिए । अभिषेक गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान २–२ विकेट लिए । शेर मल्लले १ विकेट लिए ।
विराटनगरका साम हेजलेटले सर्वाधिक ३४ रन बनाए । उनले २८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । नरेन भट्टले २१ र मर्चेन्ट डी लांगेले १७ रन बनाए ।
ओपनर मार्टिन गप्टिल र फाफ डू प्लेसिसले क्रमशः २ र ३ रन मात्र बनाए । तेस्रो क्रमका ब्याटर लोकेश बम गोल्डेन डक आउट भए । शंकर रानाले सात रन थपे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको योगफल बनाएको थियो ।
लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन बनाए ।
निरोशन डिकवेलाले २२ बलमा चार चौकासहित २९ रन बनाए । विराटनगरका स्पिनर सुवास भण्डारीले तीन विकेट लिए । ४ ओभरमा १४ रन मात्र खर्चिए । ४ ओभर बलिङ गरेका प्रतिश जिसीले २७ रन खर्चिँदै तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।
लुम्बिनी लायन्सले फाइनल तथा उपाधिको लागि शनिवार सुदूरपश्चिम रोयल्ससँग भिड्ने छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक फाइनल तथा उपाधि नजिक पुगेको हो ।