जनकपुर अझै जित विहीन

Manoj Shiama
28 November, 2025 4:10 am

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा सुमीत वर्मा र बलिङमा विपिन खत्री चम्कँदा पोखरा एभेन्जर्सले पहिलो जित हात परेको छ ।

साबिक विजेतासमेत रहेको जनकपुरको भने जितविहीन यात्राले निरन्तरता पाएको छ । यो टिमले यसअघिका दुवै खेलमा विराटनगर बोल्ट्स र काठमाडौं गुर्खाजसँग हारेको थियो ।

बिहीबारको दोस्रो र सिजनको १४ औँ खेलमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पोखराले जनकपुरलाई १६५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुर निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १३० रनमा सीमित बन्दा पोखरा २५ रनले विजयी भएको हो ।

सुमीत वर्माले जनकपुरविरुद्ध अविजित ५० रन जोड्न २९ बलमा २ चौका र ४ छक्का प्रहार गरे । उनी नै टिमको सर्वाधिक रनकर्ता हुन् ।

पोखराका दिनेश खरेलले ३८, एडम रोसिंगटनले २४, तीर्थराज दाशले २९ रन प्रहार गरे । 

पोखरका ओपनर दिनेश र एडमले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । पहिलो विकेटका रूपमा एडम ८ ओभरको तेस्रो बलमा आउट भएका हुन् । त्यही ओभरको चौथो बलमा कुशल भुर्तेल डक आउट भएपछि ब्याटिङ सम्हाल्न सुमीत आएका थिए ।

ब्याटिङमा पोखराले ८ ओभरपछिको २ ओभरमा लय गुमाएको थियो । उक्त अवधिमा ३ विकेट गुमायो । १० ओभरपछिको खेलमा सुमीत र तीर्थले ब्याटिङ उकासेपछि पोखरा ६ विकेटका क्षतिमा १५५ रनको बलियो अवस्थामा पुगेको हो ।

जनकपुरका वेन पर्नेले अर्ध शतक प्रहार गर्दै टिमबाट सर्वाधिक रन जोडे । उनी ३८ बलमा ५० रन जोडेर रिटायर्ड आउट भए । उनैको ब्याटिङले जनकपुरले सम्मानजनक हारको अवस्था पाएको हो ।

सञ्जय कृष्ण मूर्तिले २५ रन जोडे । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । 

बलिङमा पोखराका विपिन खत्री चम्किए । उनले आशिफ शेख, अनीश शाह, शुभ कंशाकरसहितका महत्त्वपूर्ण सुरुवाती क्रमका ब्याटरलाई आउट गर्दै चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा मात्र १५ रन दिए ।

सुमीतले माज सदाकत र जान निकोल लोफ्टी–इटनको विकेट लिए ।