काठमाडौं गोर्खाजको दोस्रो जित

Manoj Shiama
26 November, 2025 2:56 am


नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत मगलवारको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै दोस्रो जित हासिल गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १३५ रनमा समेटियो ।
लुम्बिनीको लगातार दोस्रो हार हो । काठमाडौंले भने लगातार दुई हारपछि जित हासिल गरेको छ । लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रन बनाए । उनले १८ बलमा ३ छक्का प्रहार गर्दै रनआउट भए । पहिलो विकेटका रुपमा सन्दीप जोरा ५ बलमा १ चौकासहित ७ रनमा क्याच आउट भए ।
दोस्रो विकेट अर्का ओपनर डार्सी सर्टको विकेट गयो । उनले ११ बलमा ३ चौका र १ छक्कासहित २२ रन बनाए । गुल्बदिन नाइब ११ रनमा क्याच भए । उनलाई ४.४ ओभरमा साहब आलमको बलमा जेहरार्ड इरास्मसले चोभार इन्डको बाउन्ड्रीमा उत्कृष्ट क्याच गरेका थिए ।
पावरप्लेमा लुम्बिनीले ३ विकेटको क्षतिमा ४९ रन बनाएको थियो । कप्तान रोहित पौडेल ११ रनमा एलबीडब्ल्यू हुँदा लुम्बिनीको ब्याटिङ धरापमा परेको हो । त्यसपछि आएका जे जे स्मिथ, सुमित महर्जन र रुबिन ट्रम्पलमेन सस्तैमा पेभेलियन फर्किए । आठौँ विकेटको रुपमा लामो समय लुम्बिनीको क्रिज सम्हालेका दिलिप नाथको विकेट गयो । एउटा इन्डबाट क्रिज सम्हालेका दिलिपले २५ रन बनाए ।
१७ औँ ओभरका साहब आलमलाई लगातार ३ छक्का प्रहार गर्दै शेर मल्लले लुम्बिनीलाई आशा दिलाएका थिए । उनी १७.१ ओभरमा रन आउट हुँदा लुम्बिनीको आशा सकिएको हो । अभिषेश गौतम अन्तिम विकेटको रुपमा करण केसीको हातमा क्याच हुँदै लुम्बिनी अलआउट भएको हो ।

तिलक भण्डारी ६ रनमा अविजित रहे । काठमडौं गोर्खाजको बलिङतर्फ मिलिन्द कुमार र जेहरार्ड इरास्मसले २–२ विकेट लिए। साहब आलम, करण केसी, सन्तोष यादव र रासिद खानले १–१ विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको काठमडौं गोर्खाजको लागि करण केसीले सर्वाधिक ३४ रनमा अविजित रहे । उनले ११ बलमा १ चौका र ४ छक्काको आक्रमक पारी खेलेका थिए । काठमाडौंको पहिलो विकेटको रुपमा दोस्रो ओभरको पहिलो बलमा शेर मल्लले ओपनर ब्याटर वेन चार्लेसवर्थलाई डकआउट गराएका थिए ।
वान डाउन आएका रासिद खानको रुपमा काठमाडौंले दोस्रो विकेट गुमायो । उनले १० बलमा २ चौकासहित सन्दीप जोराको हातमा क्याच भए । मिलिन्द कुमारले १७, सन्तोष यादवले २६ र जेहरार्ड इरास्मसले १७ रन बनाए । यी दुईले छैटौँ विकेटको लागि ३६ रनको साझेदारी गरेका थिए । साहब आलम १ रनमा अविजित रहे ।
लुम्बिनीका रुबिन ट्रम्पलमेन र शेर मल्ल, रोहित पौडेल र गुल्बदिन नैबले २–२ विकेट लिए । बुधबार विराटनगर किङ्स र चितवन राइनोजबीच खेल हुनेछ । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेला कर्णाली याक्ससँग ९ विकेटले पराजित भएको थियो ।
काठमाडौंले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएर सुखद सुरुवात गरेको थियो । त्यसपछिको २ खेलमा हार बेहोरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको काठमाडौंतेस्रो खेलमा विराटनगर किङ्ससँग ५ विकेटले पराजित भएको थियो ।