नेपाली टोली इन्डोनेसिया प्रश्थान

काठमाडौँ । इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई आइतबार नै बिदाइ गरियो । कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले बिदाइ गरे ।
१० देखि १६ मङ्सिरसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । महासचिव राईले भने ‘महिला फुटबललाई अघि बढाउन क्लबमा आधारित संरचनामा लग्यौ, परिणामस्वरूप अहिले हामीसँग अहिले १० वटा टोली छन् । हालैका केही अन्तरराष्ट्रिय खेलबाट हामी उत्कृष्ट नतिजा पाउन सक्छौं भन्ने देखिएको छ । ’
टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपानेले इन्जुरिका कारण साम्बाले खेल्न नपाए पनि बलियो टोलीसँगको खेलमा टोलीका अन्य सदस्यलाई प्रतिभा प्रस्तुत गर्ने मौका भएको बताए । टोलीकी कप्तान एञ्जिला सुब्बाले यसप्रकारका प्रतियोगिताले आफूहरुलाई सहयोग पुग्ने धारणा राखिन् ।