पोखराको लगातार दोस्रो हार

Manoj Shiama
22 November, 2025 5:48 am


नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले पराजयको सामना गरेको छ । पोखराको यो लगातार दोस्रो हार हो । यसअघिको खेलमा विराटनगर किङ्ससँग पोखरा ५३ रनले पराजित भएको थियो ।
सुदूरपश्चिम रोयल्सको भने लगातार दोस्रो जित हो । । यस सिजनको आफ्नो पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजविरुद्ध २९ रनको जित हासिल गरेको थियो ।
शुक्रबार पोखराविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटका क्षतिमा १७५ रन बनायो ।
सुदूरपश्चिमका ओपनरद्वय जोश ब्राउन र विनोद भण्डारीले १०८ रनको साझेदारी गरे । ब्राउनले ३५ बलमा ६ चौका र ५ चौकाको सहयोगमा ६८ रन जोडे ।
विनोदले ४२ बलमा ६ चौकाको सहयोगमा ४३ रन जोडे । क्रिश लिनले पनि १३ बलमा ३१ रन जोडे ।
१३ ओभरपछि पोखराले बलिङमा लय समातेको थियो । पोखराका डान डाउथवेटबाहेक अरु बलिङमा किफायती बन्न सकेनन् ।
डानले भने ४ ओभर बलिङ गर्दा २४ रन खर्चेर हरमित सिंह र दीपेन्द्र सिंह ऐरीको विकेट लिए । जेम्स निशमले तीन विकेट लिए पनि धेरै रन खर्चिए । चार ओभर बलिङ गर्दा उनले ४७ रन खर्चिए । विनोद भण्डारीलाई आकाश चन्दले आउट गराए ।
चार ओभर बलिङ गर्दा उनले ४४ रन खर्चिए । जवाफी ब्याटिङमा उत्रिएको पोखराका दुई ब्याटर प्रभावी रह्यो ।
कप्तान कुशल भुर्तेल र जेम्स निशमले पोखराको ब्याटिङ उकासे पनि जितका लागि पर्याप्त भएन । भुर्तेलले अर्धशतक पूरा गर्दै ३२ बलमा चार चौका र चार छक्काको सहयोगमा ५३ रन जोडे । निशमले २५ बलमा पाँच छक्का र २ चौकाको सहयोगमा ४७ रन जोडे ।
महत्वपूर्ण विकेट गुमेपछि क्रिजमा गएका अलराउन्डर डान डाउथवेटको पोखरालाई जिताउने प्रयास असफल रह्यो । उनले १६ बलमा १ चौका र ५ छक्काको सहयोगमा २७ रन जोडे ।
पोखराका लागि सबैभन्दा धेरै रन जोड्ने खेलाडी कप्तान कुशल भुर्तेलको विकेट सुदूरपश्चिमका स्कट कुगेलेइजनले लिए । उनले ४ ओभरमा ३३ रन खर्चिए ।
हरमित सिंहले ओपनर दिनेश खरेल र किरण ठगुन्नाको महत्वपूर्ण विकेट लिए । चार ओभरमा उनले २२ रन दिए । चार ओभर बलिङ गरेका अविनाश बोहोराले ३२ रन खर्चिए । उनले एक विकेट लिए ।