पहिलो खेलमा काठमाडौँको जित

Manoj Shiama
18 November, 2025 7:37 am

नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको छ ।

 काठमाडौँले जनकपुरले दिएको १३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट क्षतिमा पूरा परेको हो । काठमाडौँको जितमा बेन चाल्र्सवर्थले सबैभन्दा बढी ४६ रन जोडे । उनले २३ बलमा ५ चौका र ३ छक्कासमेत प्रहार गरे ।

ओपनर द्वय बेन र आकाश त्रिपाठीको ७० रनको बलियो साझेदारी लोफ्टी इटोनले तोडेका हुन् । उनले बेनको रिटर्न क्याच लिए ।

ओपनर आकाश त्रिपाठीले ४५ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडे ।

मिलन्द कुमारले २२ बलमा खर्चेर १९ रन जोडे । उनले एक छक्का प्रहार गरे । ६ बल खेलेका जोन सिम्पसनले एक चौका र एक छक्काको सहयोगमा १३ रन जोडे ।

 गेरहार्ड इरास्मसले एक रन र मोहम्मद आदिल आलमले ८ रन जोड्दा जित काठमाडौँको पक्षमा आयो ।

किशोर महतो, अनि शाह, ललित राजवंशी, जान निकोल लोफ्टी(इटन र सञ्जय कृष्णमूर्तिले समान एक(एक विकेट लिए ।

किशोर यादव खर्चिलो बलर बने । उनले तीन ओभर बलिङ गर्दा एक २८ रन खर्चिए । चार–चार ओभर बलिङ गरेका अनिल शाह र ललित राजवंशीले समान २६–२६ रन खर्चिए ।

यस अघि  कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले आशिफ शेखको अर्धसत्तकको साथमा १३० रनको बनाएको हो ।

जनकपुर बोल्ट्सका चार महत्त्वपूर्ण ब्याटर दोहोरो रन नजोडी आउट भए ।

ओपनर लाहिरू मिलन्था १२ बल खर्चेर ७ रन जोडेर आउट भए । कप्तानसमेत समेत रहेका अनिल शाह रनको खाता नखोली पवेलियन फर्किए । 

दोहोरो रन जोड्न नसक्ने दुई ब्याटर जान निकोल लोफ्टी–इटन र सञ्जय कृष्ण मूर्ति हुन् । यी दुवैले समान २–२ अङ्क जोडे ।

अर्का ओपनर आशफिले भने जनकपुरको ब्याटिङ उकास्ने सक्दो प्रयास गरे । उनले यो सिजनको पहिलो अर्ध शतकसमेत प्रहार गरे । ४१ बल खेल्दा उनले ६ चौका र एक छक्काको सहयोगमा ५४ रन जोडे । 

आशिफ आउट भएपछि जनकपुरको ब्याटिङ धराशायी हुनबाट मयन यादव र लाहिरु समरकुन बचाए । मयनले २९ बलमा ३४ रन जोडे । उनले दुई छक्का र १ चौका प्रहार गरे । समरकुनले २१ बलमा २ छक्काको सहयोगमा २२ रन जोडे ।

चार ओभर बलिङ गरेका मिलन्दा महत्त्वपूर्ण तीन विकेट लिए । 

काठमाडौँका कप्तान करण केसीले एक विकेट लिए । उनले जनकपुरका लाहिरु समरकुनलाई मोहम्मद आदिल आलममार्फत क्याच आउट गराएका हुन् ।

शहब अलामले आफिशको विकेट लिए । आशिफ अलामको बलमा गेरहार्ड इरास्मसमार्फत् क्याच आउट भएका हुन् । सन्तोष यादवले सञ्जय कृष्ण मूर्तिको विकेट लिए ।