लालीगुराँस र चित्लाङ प्रेसिडेन्ट लिगको फाइनलमा

Manoj Shiama
17 November, 2025 6:01 am

लालीगुराँस स्पोेर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको सेमिफाइनलमा लालीगुराँसले काँक्रेविहार युथ क्लबलाई २–० ले हरायो । विजयी टोलीका मुकुन्द कुमार निउरे र राम थापाले गोल गरे । निउरे प्लेयर अफ द म्याच घोषित भए । 

अर्को सेमिफाइनलमा चित्लाङले नव जनजागृति युवा क्लबलाई सडनडेथमा ९–८ ले हरायो । निर्धारित समय गोल रहित बराबरीमा सकिएको सो खेलको पहिलो ५ पेनाल्टी सुट आउटमा ४–४ को बराबरी भएको हो । नव जनजागृतिको १० औ पेनाल्टी असफल भएको थियो भने चित्लाङले सफलता पाएको थियो । चित्लाङका गोल रक्षक विशाल केसी प्लेयर अफ द म्याच घोषित भए । उपाधि भिडन्त २ मङ्सिरमा हुने छ । उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । सेमिफाइनल प्रवेश गर्ने ४ टोली राष्ट्रिय लिगमा प्रवेश गरेका छन् ।