ग्लोबल आइएमई बैङ्कको १९औँ वार्षिक साधारण सभा सम्पन्न

Manoj Shiama
13 November, 2025 7:42 am

ग्लोबल आइएमई बैङ्क लिमिटेडको १९औँ वार्षिक साधारण सभा बुधवार काठमाडौँमा सम्पन्न भएको छ । 

साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चित मुनाफा समेतबाट बैङ्कले आफ्ना सेयर धनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

बैङ्कले आर्थिक वर्ष २०८१।८२ मा  ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा रु. ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । 

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैङ्कले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै सेयर धनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताउनु भयो । 

साथै, बैङ्कले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।  

साधारण सभामा नेपाल राष्ट्र बैङ्क, नेपाल धितो पत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधिहरू, शेयर धनी, संस्थागत सेयर धनीका प्रतिनिधिहरू, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधिहरू, कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैङ्कले बैङ्क अफ द इथर २०१४, वेस्ट इन्टरनेट बैङ्क २०१६, वेस्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेस्ट बैङ्क ईएसजी नेपाल २०२४, वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ । 

ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । 

बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।  

बैङ्कले रेमिटेन्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । 

अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैङ्कले रेमिटेन्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान गर्दै आएको  छ ।