नवीनका लागि अवसर र चुनौती हो, दुवै हो साफ च्याम्पियनसिप

नवीन न्यौपानेका लागि यस पटक राष्ट्रिय टिमको जिम्मेवारी दोस्रो पटक हो । यस अघि पुरुष राष्ट्रिय टोली सम्हालेका उनी फ्रेन्चाइज,क्लब स्तरीय र उमेर समूहमा सफल प्रशिक्षकको रूपमा आफूलाई स्थापित गर्न सफल भइसकेका छन् ।
आसन्न २४ र २७ अक्टोबरमा भारतमा आयोजना हुने इरान र भारत विरुद्धको शृङ्खला उनको पहिलो परीक्षण हुने छ । उनको नेतृत्वमा रहेको कोचिङ स्टाफमा भगवती थापा र राजकुमार केसी सहायक प्रशिक्षक छन् भने प्रकाश वैद्य गोलकिपिङ प्रशिक्षक छन् । टोलीमा रहेका भगवती राष्ट्रिय टोलीमा धेरै खेलाडी रहेको एपिएफ क्लबको समेत प्रशिक्षक हुन् । यस कारण पनि उनले धेरै खेलाडीलाई एकदमै नजिकबाट नियालेकी छिन् । यो नै नवीन सहितको कोचिङ टिमका लागि सकारात्मक पक्ष त हुँदै हो ।

भारत पछिल्लो समय लयमा छ । सो टोलीले पछिल्लो समय खेलेको ४ खेलमा नै सफलता पाएको छ । यस कारण बरीयतामा उक्लेर ६३ औ स्थानमा पुगेको छ । इरानले पछिल्लो ४ खेलमा ३ मा जित र एकमा हारको सामना गरेको छ । सो टोली ७० औ स्थानमा छ । नेपालले पछिल्लो समय फड्को मार्दै ८९ औ स्थानमा उक्लेको छ ।

यो आँकडाले यी टोलीमा नेपाल केही कमजोर देखि पनि पछिल्लो समयको फर्मको आधारमा सबै टोली बराबर मान्छिन् । यी तीनमा खेलकै समयमा जो ‘क्लिक ’ हुन्छ ,उही टोली जितको स्वाभाविक हकदार हो ।

पछिल्लो एक दशक लामो भन्दा लामो समय नेपाली महिला फुटबल टोलीले एउटा नियति भोगेको छ । लगातार फाइनल प्रवेश गर्ने तथा उपविजेता हुने नियति भोगेको नेपाली टोलीको लक्ष्य आसन्न प्रतियोगितामा उपाधि हो । यसै कारण नवीन सहितको कोचिङ टिमका सामु अवसर र चुनौती दुवै छ ।
खेलाडी जीवन देखि हरेक समय कठिन अवस्थामा नै सफलता पाएका नवीनका लागि टोलीलाई फेरी सङ्गठित गर्ने चुनौती हो । दसैँ लगायत चाडका र अन्य कारणले धेरै समय खेलाडी क्याम्पमा रहन पाएनन् । टोलीका धेरै खेलाडी लामो समय देखि एउटै सेटमा रहेका कारण धेरै अप्ठेरो भने पक्कै छैन । परन्तु यस पटक नयाँ जिम्मेवारीमा सफल हुनेमा नवीन आशावादी छन् ।