विश्वकपमा छनोट भएको नेपालको अपराजित यात्रा कायमै

नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ । बुधवार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।
नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्ध शतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।
राम्रो सुरुवात गर्दै पावर प्लेमा ५३ रन जोड्दा कुनै पनि विकेट नगुमाएको नेपालले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाएको थियो । ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २–२ विकेट लिए ।
नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । जितपछि नेपाल ४ खेलमा ८ अङ्क जोडेर शीर्षस्थानमा उक्लिएको छ ।
नेपालले आइतबार युएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार युएईलाई हराएको थियो । नेपालले अब शुक्रवार सामोआसँग खेल्नेछ। नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् ।