नेपालको विजयी सुरुवात

Manoj Shiama
9 October, 2025 7:31 am

काठमाडौं – ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

बुधवार अल अमेरतमै भएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो । नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिँदा कुशल भुर्तेल, सोमपाल कामी र  नन्दन यादवले एक–एक विकेट झारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको शानदार पारी खेले भने गुल्सन झाले ६ बलमा २० रन जोडे। दीपेन्द्रसिंह ऐरी २० र कप्तान रोहित पौडेलले १६ रन थपे । कुवेतका बलर अनुदीप चन्दमार र नविनराज राजेन्द्रनले दुई–दुई विकेट हात पारे ।

नेपाल अब शुक्रवार जापानविरुद्ध दोस्रो खेल खेल्नेछ । नौ टिम सहभागी प्रतियोगिताबाट सुपर–६ हुँदै शीर्ष तीन टिमले भारत–श्रीलङ्कामा हुने २०२६ टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।