यस दसैँमा नेपाललाई मोटरस्पोर्टस्को उपहार ः ऐतिहासिक एसियाली स्वर्ण

Manoj Shiama
7 October, 2025 7:05 am

दसैँको धूमधामका बिच नेपाली मोटरस्पोर्टस्का खेलाडीहरूले एसिया प्यासिफिक च्याम्पियनसिपको स्वर्ण पदक नेपाली खेलकुदलाई उपहार दिएका छन् । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय मोटरस्पोट्र्सको अफिसियल इभेन्टमा स्वर्ण पदक जित्दै एसिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिप–२०२५ मा ऐतिहासिक सफलता हासिल गरेको छ । गत सेप्टेम्बर २६–२८मा श्रीलङ्काको कोलम्बोस्थित श्रीलङ्का कार्टिङ सर्किटमा १८ राष्ट्रका २०४ खेलाडीवशबिच सम्पन्न प्रतियोगितामा नेपालका आशिष भारती “रोनी”ले अटो जिमखाना (पुरुष एकल) विधामा स्वर्ण पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मोटरस्पोट्र्समा सुनौलो अक्षरमा लेखेका छन् ।

ललितपुरका ३१ वर्षीय आशिषको यस सफलताको यात्रा थप प्रेरणादायी पनि रह्यो । पहिलो दिनको अभ्यासमा उनी १६औँ स्थानमा मात्र थिए, दोस्रो दिन भएको अर्को इभेन्ट एसिया अटो जिमखाना च्याम्पियनसिपमा पाँचौँ स्थानमा पुगे र त्यसपछि आत्मविश्वाससहित मुख्य प्रतियोगितामा प्रवेश गरे । अन्तिम दिनको मुख्य प्रतिस्पर्धाको छनोट चरणमा उनी दोस्रो स्थानमा रहे र अन्ततः शीर्ष आठको फाइनलमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जित्न सफल भए । 

सो च्याम्पियनसिपमा नेपालले अस्ट्रेलिया र जापानसँगै एक–एक स्वर्ण जित्दै सातौँ स्थानमा साझा स्थान सुरक्षित ग¥यो । पदक तालिकामा फिलिपिन्स शीर्ष स्थानमा रह्यो, जसले दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्यो । श्रीलङ्का र हङकङले पनि दुई–दुई स्वर्णसहित क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे । मलेसिया, भारत र क्रिग्रिस्थानले एक स्वर्ण सहित क्रमशः चौथो, पाँचौँ र छैटौँ रहे । चाइनिज ताइपेइ, पाकिस्तान, उज्बेकिस्तान र दक्षिण कोरियाले भने रजत र कांस्यमै चित्त बुझाए । चीन, सिङ्गापुर, मालदिभ्स र बङ्गलादेश भने कुनै पदक जित्न नसकेर तालिकाको अन्त्यमा रहे ।

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) मार्सल एन्ड ट्रेनिङ   कमिसनका सचिव तथा सो च्याम्पियनसिपका लागी नेपाली टिम म्यानेजर आशिष रौनियारले यस उपलब्धि साझा मेहनतको परिणाम भएको बताए । उनका अनुसार, “यो हाम्रो सपना साकार भएको क्षण हो । रोनीको स्वर्णले प्रमाणित ग¥यो कि नेपाल अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न मात्र होइन जित्न पनि सक्छ । खेलाडीलाई उचित तालिम, पूर्वाधार र स्रोत उपलब्ध गराउन सकियो भने आगामी दिनमा एसियामा मात्रै नभई वर्ल्ड च्याम्पियनसिपमै पदक ल्याउन सकिन्छ ।” 

स्वर्ण विजेता आशिषको भनाइमा “यो जित मेरो मात्र होइन, सम्पूर्ण टिम र नेपाली मोटरस्पोर्टस्को सामूहिक सङ्घर्षको परिणाम हो । म दशकभन्दा बढी समयदेखि यसकै लागि मेहनत गरिरहेको थिएँ । अब नेपालमा मोटरस्पोट्र्सलाई अझै व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने बेला आएको छ, किनकि अब नेपाली मोटरस्पोर्टस् खेल्न–हेर्न मात्र होइन जित्न पनि हो ।”

प्रत्येक दुई–दुई वर्षमा एसिया प्यासिफिक क्षेत्रका देशहरूको बिचमा हुने सो एसिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिपको यस दोस्रो संस्मरणमा कार्टिङ स्प्रिन्ट, कार्टिङ एन्डुरेन्स, कार्टिङ स्लालम, अटो जिमखाना, क्रस–कार अटोक्स र ई–स्पोट्र्स गरी ६ विधा र १२ विधागत वर्गमा प्रतिस्पर्धा भएको थियो । नेपालले अटो जिमखानामा तीन, क्रसकार–अटोक्रसमा दुई र ई–स्पोट्र्समा एक गरी कुल ६ खेलाडी सहभागी गराएको थियो । तीमध्ये आशिष भारतीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जिते भने अन्य अधिकांश खेलाडीहरूले पनि आफ्नो पहिलो अन्तर्राष्ट्रिय अनुभवमा सशक्त उपस्थिति जनाए ।

मोटरसाइकल रेसिङका नेसनल च्याम्पियन राजकुमार कार्कीले पहिलो पटक चार पाङ्ग्रे प्रतिस्पर्धामा हात हाल्दै अन्तर्राष्ट्रिय डेब्यू गरे, यद्यपि शीर्ष १६ मा प्रवेश गर्न सकेनन् । महिला अटो जिमखाना एकलमा बिपास्ना तामाङले दशौँ स्थान सुरक्षित गरिन् । उनी शीर्ष आठमा पुग्न भने असफल भइन् तर उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता नै नेपालमा महिला मोटरस्पोट्र्सका लागि प्रेरणा बनेको छ । 

जय प्रताप मास्के र रबिन सुनुवारका लागी पनि क्रसकार–अटोक्रस पहिलो अन्तर्राष्ट्रिय अनुभव हो । जहाँ उनीहरूले व्यावसायिक र्‍याली चालकहरूसँग प्रतिस्पर्धा गर्दै सम्मानजनक प्रदर्शन गरे । अन्तर्राष्ट्रिय क्रसकार विभामा पहिलो नेपाली सहभागिता रहेकोमा जयले सेमिफाइनल राउन्डमा पुग्नु नै एउटा उपलब्धिको क्षण हो, जहाँ उनले १२ औँ पक्का गरे । त्यस्तै, सेमिफाइनल पुग्न नसके पनि रबिनको पनि पहिलो अन्तर्राष्ट्रिय अनुभव शिकाईयोग्य रह्यो, जसबाट उनको अन्तर्राष्ट्रिय ट्र्याकको ढोका खुलेको छ ।

प्रतियोगिताका अर्का सहभागी रोशन अधिकारीले ई–स्पोट्र्समा नेपालको प्रतिनिधित्व गरे । रोजगारीको सिलसिलामा हाल अस्ट्रेलियामा रहेका उनको सहभागीले समर्पण र लगावलाई प्रस्ट पारेको छ । मोटरस्पोर्टस् भित्रको सिम–रेसिङ लोकप्रिय र सहज विधा हो, जहाँ नेपाली खेलाडीहरूबाट आगामी दिनमा पदकको समेत आशा गर्न सकिन्छ ।

ऐतिहासिक उपलब्धिसहित नेपाली टिम मध्य दसैँका दिन स्वदेश फर्किसकेको छ, एउटा गर्विलो ट्र्याक बनाउँदै र दुर भविष्यको गन्तव्य तय गर्दै ।

नेपालको यो सफलता अझ महत्त्वपूर्ण यस कारणले पनि हो कि मोटरस्पोट्र्स विश्वकै सबैभन्दा लोकप्रिय र व्यावसायिक खेलमध्ये एक हो । अन्तर्राष्ट्रिय अटो मोबाइल महासङ्घ (एफआईए) र अन्तर्राष्ट्रिय मोटरसाइकल महासङ्घ (एफआईएम) अन्तर्गत सञ्चालन हुने यस्ता खेलमा नेपाल करिब १६ वर्षअघि मात्रै संस्थागत रूपमा प्रवेश गरेको हो । 

सन् २००८ मा स्थापना भएको नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले यस अवधिमा विभिन्न राष्ट्रिय प्रतियोगिता, तालिम, पूर्वाधार विकास र युवा आकर्षणका कार्यक्रममार्फत मोटरस्पोट्र्सलाई देशमा स्थापित गर्न निरन्तर प्रयास गर्दै आएको छ । अझै पनि नेपालमा अत्याधुनिक मोटरस्पोट्र्स ट्र्याक वा विश्वस्तको सुविधा नभएको अवस्थामा यो सफलता प्राप्त हुनु अझै उल्लेखनीय मानिन्छ ।

नेपाली मोटरस्पोर्टस्को यो उपलब्धिले नेपाली खेलकुदमा नयाँ सम्भावनाको ढोका खोल्दै एक नयाँ आशाको सञ्चार गरेको छ । हालै दुबईमा सम्पन्न क्रिकेट प्रतियोगिता, स्पेनमा भएको ट्रेल रनिङ र श्रीलङ्कामा सम्पन्न मोटरस्पोट्र्समा नेपालको उपलब्धिले देखाएको विविधता र साहसले नेपाली खेलकुदको स्तर र दिशा दुवै परिवर्तन भइरहेको सन्देश दिएको छ । 

नेपालले खेलकुदलाई साहसिक पर्यटनसँग जोड्न सकेमा यसले खेलाडीलगायत देशकै पहिचान र पर्यटन उद्यमलाई नयाँ उचाइमा पु¥याउनेछ । मोटरस्पोट्र्ससँगै नेपाललाई अन्तर्राष्ट्रिय साहसिक खेलगन्तव्यको रूपमा प्रवर्द्धन गर्ने अवसर पनि यही सफलताले उजागर गरेको छ । 

एसिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिप–२०२५ मा नेपालले जितेको यो स्वर्ण केवल पदक मात्र होइन, नेपाली मोटरस्पोट्र्सको नयाँ युगको सुरुवातको प्रतीक पनि हो, जसले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोट्र्स परिवारमा सम्मानजनक स्थान दिलाएको मात्र नभई आगामी दिनमा साहसी नयाँ पुस्ताका लागि थप अवसरहरू सिर्जना गर्नेछ ।