विवाद सकिएको कुस्ती संघको नाम अनाधिकृत व्यक्तिले लिएको भन्दै आपत्ति

Manoj Shiama
28 August, 2025 6:24 am


नेपाल कुस्ती संघले आफ्नो नाम प्रयोग गरी भइरहेको अनाधिकृत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै खेलकुद क्षेत्रमा भ्रम फैलाउन नदिन सरोकारवालासँग आग्रह गरेको छ ।
संघका महासचिव खगेन्द्रबहादुर बस्नेतले मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले ३ चैत २०७७ मा दिएको फैसलाअनुसार खारेज भइसकेका तत्कालीन अध्यक्ष राज मोहम्मद मिया अन्सारी र वरिष्ठ उपाध्यक्ष समिम मिया अन्सारी संघको प्रतिनिधि भनी विभिन्न कार्यक्रममा उपस्थित भइरहेको घटनाप्रति आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयबीच छलफलमार्फत समाधान खोजिनुपर्ने आवश्यकता देखिन्छ । समस्या यथावत रहे अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागितामा बाधा पर्नेछ ।’
संघले अनाधिकृत गतिविधिले खेलाडीलाई निरुत्साहित गर्ने र दशकौँको विकास, विस्तार र प्रवद्र्धनमा असर गर्ने भन्दै संघको नाममा भ्रामक गतिविधि नगर्न आग्रह गरेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ बमोजिम ४ चैत २०८० साल गते सम्पन्न साधारणसभाबाट प्रकाशकुमार कुसारी नेतृत्वको कार्यसमिति निर्वाचित भइसकेको र त्यसैबाट कुस्ती संघको विवाद अन्त्य भएको संघको दाबी छ । यस विषयमा न्यायालयले समेत टुंगो लगाइसकेको भन्दै हाल नेपाल ओलम्पिक कमिटी र विश्व कुस्ती महासंघले समेत यही संघलाई मान्यता दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै संघले हाल तदर्थ ओलम्पिक कमिटीका प्रवक्ता समिम मिया अन्सारीको नाम कुस्तीसँग जोडिए पनि उनको नेपाल कुस्ती संघसँग कुनै सरोकार नरहेको स्पष्ट पारेको छ ।