३ जनाको शतकसँगै अस्ट्रेलियाको शानदार जित

एकै पारीमा ३ शतक प्रहार भए पछि अस्ट्रेलियाले दक्षिण अफ्रिकासँगको तेस्रो एक दिवसीय खेलमा २७६ रनको शानदार जित हात पारेको छ । आइतबार भएको दिवा रात्रि खेलमा अस्ट्रेलियाले दिएको ४३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २४.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १५५ रनमा सीमित भएको हो । अस्ट्रेलियाका कुपर कोनलीले ६ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए ।
यस अघि अस्ट्रेलियाका लागि हेडले १०३ बलमा १४२ तथा मार्सले १०० रन जोडे । क्यामरुन ग्रिनले ५५ बलमा अविजित रहँदै ११८ तथा एलेक्स क्यारीले ३७ बलमा ५० रन जोडे । ग्रिनले ४७ बलमा नै शतक पुरा गरेका थिए । ग्रिनको यो पहिलो एक दिवसीय शतक हो ।

यो स्कोर अस्ट्रेलियाको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो ठुलो योगफल हो । १९ वर्ष अघि अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३४ रन जोडेको थियो । सो खेलमा अस्ट्रेलिया पराजित भएको थियो । यस खेलमा शीर्ष क्रमका ३ जनाले शतक प्रहार गर्ने दोस्रो टोली बन्न अस्ट्रेलिया सफल भएको छ । १ दशक अघि दक्षिण अफ्रिकाले जोहन्सबर्गमा भएको खेलमा वेस्ट इन्डिजको विरुद्धमा यसै किसिमको सफलता पाएको थियो ।

३ खेलको शृङ्खलाका यस अघिका दुवै खेल दक्षिण अफ्रिकाले जिती सकेको थियो । यस अघिका दुवै खेलमा अस्ट्रेलियाले २०० रन पार गर्न सकेको थिएन । तेस्रो खेलमा कासिगो रबाडा र लुङगी एनगिडीले आराम लिए पछि क्वेन मपाखाले ६ ओभरमा ७३ तथा वायन मल्डरले ७ ओभरमा ९३ रन खर्चिए ।
