गिल उपकप्तानको रूपमा फर्किए वैकल्पिक सूचिमा पनि रहेनन् ऐयार

शुभमन गिलले भारतीय टी २० टोलीमा उपकप्तानको रूपमा पुनर्बहाली गरेका छन् । उनले अक्षर पटेललाई विस्थापित गर्दै उप कप्तानको जिम्मेवारी पाएका हुन् । मंगलबार छनोट कमिटीले आसन्न एसिया कपका लागि सूर्य कुमार यादवको नेतृत्वमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
छनोट कमिटीका संयोजक अजित अगरकरले गिलमा केही नेतृत्व क्षमता देखेर यो निर्णय गरेको बताए । टोलीमा मध्य या तल्लो क्रमको ब्याटिङ विकल्पको रूपमा सूर्य कुमार यादव, तिलक बर्मा, रिंकु सिंह र जितेस शर्मा छन् । खेलमा अभिषेक शर्मा र गिलले पारीको सुरुवात गरेमा जितेस पहिलो रोजाइको विकेट किपर पनि हुन सक्ने छन् । सञ्जु सामसन पनि टोलीमा छन् ।
तिन अलराउण्डर अक्षर, हार्दिक पाण्डे र शिवं दुवे टोलीमा समावेश गरिएका छन् । विशेषज्ञ बलरको रूपमा जसप्रित बुमराह, आर्सदीप सिंह, कुलदिप यादव, वरुण चक्रवर्ती र हर्सिंत राना छन् ।
५ वैकल्पिक खेलाडी पनि टोलीको साथमा रहने छन् । यसरी रहने वैकल्पिक खेलाडीमा यशस्वी जयसवाल, प्रसिद्ध कृष्ण, वासिङ्टन सुन्दर, रियान पराग र ध्रुव जुरेल छन् । पन्जाबको नेतृत्व गर्दै य सिजनको आइपिएलमा ६०५ रन प्रहार गरेका श्रेयास ऐयार भने वैकल्पिक सूचिमा पनि अटाएनन् ।