एसिया ट्राईयाथलन कपको उपाधि बब र मारगारेटालाई

पोखरामा सम्पन्न २०२३ एसिया कप ट्राईयाथलन कपको उपाधि पुरुष तर्फ लक्जम्बर्गका बब हेलर र महिला तर्फ स्लोभाकियाकी मारगरेटा बिकानोभाले हात पारेका छन् । ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडको दुरी बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घण्टा ४ मिनट ५१ सेकेन्ड समयका साथ पुरा गर्दै उपाधि जितेका हुन् ।

नेपाल ट्राईयाथलन सङ्घको आयोजनमा भएको २०२३ एसिया ट्राइयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप अन्तरगत भएको प्रतियोगिताको एसिया कपको पुरुष स्पर्धामा उज्बेकिस्तानका एलेक्जेन्डर कुरिसोभले उक्त दुरी ५५ मिनट ५७ सेकेन्ड समयका साथ दोस्रो स्थान हात पारे । लक्जम्बर्गका स्टेफान जाकोसले ५६ मिनट १ सेकेन्डमा पुरा गर्दै तेस्रो भए । चौथो स्थानमा रहेका जापानका क्योतारो याशिकावाले ५६ मिनेट ९ सेकेन्ड र पाँचौँ स्थानमा रहेका न्युजिल्याण्डका ओलीभर लारकोम्बेले ५७ मिनट ५८ सेकेन्ड समयका साथ दुरी पुरा गरे ।

महिला तर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमा शीर्ष ३ स्थानमा रहे । मिनोरीले १ घण्टा ५ मिनट १८ सेकेन्डमा र चिसातोले १ घण्टा ५ मिनट ३० सेकेन्डमा दुरी पुरा गरे । चौथो स्थानमा रोमानियाकी एन्तोनेला मानाक र पाँचौँ स्थानमा जापानकी युका सातो रहे । मानाकले १ घण्टा ६ मिनट ४ सेकेन्ड र सातोले १ घण्टा ७ मिनट ३७ सेकेन्डमा दुरी पुरा गरे ।

विश्व ट्राइयाथलन महासङ्घको नियम बमोजिम घोषित कुल पुरस्कार राशि मध्ये पहिलोले ३० प्रतिशत, दोस्रोले २५ प्रतिशत, तेस्रोले २० प्रतिशत, चौथोले १५ प्रतिशत र पाँचौँले १० प्रतिशत रकम प्राप्त गर्नेछ । त्यसै अनुरूप घोषित कुल ४२ सय डलरबाट उपाधि विजेताले  ६३० डलर, उपविजयीले ५२५ डलर र तेस्रो हुनेले ४२० डलर प्राप्त गरे । चौथो स्थान प्राप्त खेलाडीले ३१५ डलर र पाँचौँ स्थानका खेलाडीले २१० डलर पाए ।

सोही प्रतियोगिता अन्तरगत भएको दक्षिण एसियन च्याम्पियनसिपमाको ट्राईयाथलन तर्फ भारतका आदर्श मुरली धरण नायर सिनिमोलले आफ्ना प्रतिद्वन्द्व पछि पार्दै उपाधि जिते । उनले निर्धारित दुरी १ घण्टा ४ मिनट १६ सेकेन्डमा पुरा गरे । यस्तै दोस्रो स्थानमा रहेका भारतकै विश्वनाथ यादवले १ घण्टा ६ मिनट २५ सेकेन्ड र तेस्रो स्थानमा रहेका नेपालका वसन्त थारुले १ घण्टा ६ मिनट ५२ सेकेन्डमा दुरी पुरा गरे । महिला तर्फ पूर्व विजेता भारतकी प्रज्ञा मोहनले १ घण्टा १२ मिनट समयका साथ प्रथम स्थान प्राप्त गर्दा भारतकै मान्सी मोहितेले १ घण्टा १३ मिनट ४६ सेकेन्ड समयका साथ दोस्रो स्थान प्राप्त गरिन् । तेस्रो स्थानमा नेपालकी श्रेवी महर्जनले १ घण्टा १८ मिनटमा दुरी पुरा गरिन् ।

दक्षिण एसियन च्याम्पियनसिप अन्तरगत जुनियर ट्राईथलनमा भारतले एकलौटी पा¥यो । भारतका खुन्द्रकपाम नगन्हा मैतेले निर्धारित दुरी १ घण्टा २ मिनट ४६ सेकेन्ड समयका साथ पुरा गर्दै पहिलो, पार्थ मिराज १ घण्टा ६ मिनट ४२ सेकेन्ड समयका साथ दोस्रो र श्रीदथ सुधीर १ घण्टा १० मिनट २६ सेकेन्ड समयका साथ तेस्रो भए । महिला तर्फ भारतकी सृजना सुनिल जोशी १ घण्टा १२ मिनट २१ सेकेन्डका साथ पहिलो, नेपालकी श्रेवी महर्जन १ घण्टा १८ मिनटका साथ दोस्रो र भारतकी देवकी शर्मा १ घण्टा २७ मिनट ८ सेकेन्डका साथ तेस्रो भए ।

राष्ट्रिय तर्फ पुरुषमा वसन्त थारु, दीपेश चौधरी र मुकेश चौधरी पहिलो, दोस्रो र तेस्रो भए । वसन्तले १ घण्टा, ६ मिनट, ५२ सेकेन्ड, दीपेशले १ घण्टा, ९ मिनट, १७ सेकेन्ड र मुकेशले १ घण्टा १० मिनट ४४ सेकेन्ड समयका साथ दुरी पुरा गरे । महिला तर्फ श्रेवी महर्जन प्रथम भइन् । दोस्रो स्थानमा रहेकी केशरी थापा मगरले निर्धारित दुरी १ घण्टा ३२ मिनट ३१ सेकेन्ड समयमा पुरा गरिन् ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि गण्डकी प्रदेश सांसद प्रकाश बराल, पूर्व सांसद दीपक कोइराला र नेपाल ओलम्पिक कमिटीका महासचिव एवं सङ्घका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ लगायतले लगायतले पुरस्कार वितरण गरेका थिए ।

फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्बेकिस्तान, जापान, उरुग्वे, अस्ट्रिया, अस्ट्रेलिया, काजकिस्तान, स्लोभाकिया, युएई, प्यालेस्टाइन, न्युजिल्याण्ड र भारतका गरी ४३ खेलाडीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

यस्तै महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्बेकिस्तान , मरिसस, अलजेरिया, भारत र नेपालका गरी १५ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । 

Comment