तेक्वान्दोको मूलधार जोशी नेतृत्वमा

राष्ट्रिय खेलकुद परिषद्को निर्णय अनुसार गठित नेपाल तेक्वोन्दो महासङ्घका अधिकारी माथि नेपाल तेक्वान्दो सङ्घका अधिकारीले लगातार दोस्रो दिन कार्यालय प्रवेशमा अवरोध सृजना गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले बुधवार नै जिल्ला प्रशासन कार्यालय ललितपुरलाई पत्राचार गर्दै हल खोल्नका लागि आहन गरेको छ ।
विगतमा सङ्घ भित्र विवाद हुँदा परिषद्ले विघटन गरे पछि विघटित संघले कार्यालय छाडेको इतिहास छ । २०५८ सालमा तत्कालीन सदस्य सचिव विनोद शंकर पालिखेले अखिल नेपाल फुटबल सङ्घ विघटन गर्दा तत्कालीन अध्यक्ष गणेश थापाले सातदोबाटोको कार्यालय छाडेर कुपुण्डोलमा कार्यालय सञ्चालन गरेका थिए ।
यसै गरी परिषद्ले नेपाल कराँते महासङ्घ विघटन गर्दै दावा गुरुङलाई अध्यक्ष बनाए पछि विघटित महासङ्घका अध्यक्ष पुरेन्द् विक्रम लाखेले कुनै अवरोध सृजना गरेका थिएनन् ।
नेपाल तेक्वान्दो संघले बिहीबार विज्ञप्ति जारी गर्दै ऐतिहासिक सफलता पाएको खेल माथि परिषद् पूर्वाग्रही भएको आरोप लगाएको छ ।
संघले यो आरोप लगाए पनि नेपाली तेक्वान्दोको विकासमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिको मूलधार अहिले तेक्वान्दो महासङ्घमा आबद्ध भएको छ ।
पदाधिकारीमा एकाध खेलकर्मी छाडेर राजनीतिकर्मी र व्यापारीले  भरिएको समयमा  तेक्वान्दो सङ्घ विघटन गर्दै जीवन नै यस खेलमा बिताएका व्यक्ति मात्र समावेश गर्दै तेक्वान्दो महासङ्घ गठन गरिएको हो ।
जोशी अध्यक्षतामा रहेको महासङ्घमा वरिष्ठ उपाध्यक्ष एकनाथ थापा छन् । उपाध्यक्ष तेक्वान्दोका वरिष्ठ प्रशिक्षक ध्रुव गुरुङ, अर्जुन विक, प्रेम भुजेल र मीन थापा छन् । इन्द्र मान तुलाधर महासचिव रहेको समयमा उप महासचिव राजकुमार कार्की र सचिव राकेश कुमाइ राई र सनीस लगेजु छन् । यसै गरी नेपाली खेलकुदमै सबै भन्दा ठुलो र महत्त्वपूर्ण योगदान भएको नुवाकोट तेक्वान्दोको विकासमा अग्रणी महेन्द्र तामाङ पनि सचिव छन् । खेलकुदमा विद्या वारिधी गरेका अच्युतम लामिछाने पनि सचिव छन् ।
अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का कोशाध्यक्ष छन् ।
पदम राना, पूर्ण बहादुर सिंह बोहरा, ज्ञान बहादुर विक, अमृत तामाङ र विकास श्रेष्ठ सदस्य छन् । तामाङले धादिङमा धेरै वटा डोजाङ सञ्चालन गरेका छन् । उनले एडभान्स एकेडेमीमा पाठ्यक्रममै राखेर कक्षा ४ देखि ८ सम्म तेक्वान्दो प्रशिक्षण गर्दै आएका छन् । सञ्जय लाल श्रेष्ठ, खड्ग गुरुङ, बुद्धि बहादुर थापा, राजेन्द्र मडाइ, सुवास तामाङ र गौतम मान महर्जन निर्मला गुरुङ सदस्य छन् । गोकर्ण कुँवर, रोमी गिरि र सुरेन्द्र पराजुली छन् ।
नेपाली तेक्वान्दोको सिनीयर पुस्तामा विक, थापा र गुरुङको उपस्थितिले नेपाली तेक्वान्दोको मूलधार जोशी नेतृत्वको महासङ्घ भएकोमा विमति हुन सक्दैन ।
स्मरणीय छ, व्यापारिक पृष्ठभूमिका व्यक्तिको सङ्घमा उपस्थिति भए पनि तेक्वान्दो संघले खेलाडीको भविष्य सुनिश्चित गराउन नसकेको पछि पछिल्लो समय १ दर्जन राष्ट्रिय खेलाडी बिदेसिएका छन् ।
Comment