चन्द्रागिरि ब्याडमिन्टनको उपाधि रसिला र नवीनले जिते


रसिला महर्जन र नवीन श्रेष्ठले प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि जितेका छन् । सेनाकी खेलाडी महर्जनले महिला एकल तर्फ पूर्व नं. १ खेलाडी भोजपुरकी नङ्गशल देवी तामाङलाई २१–१४, २१–१३ को सोझो सेटमा पराजित गरेकी हुन् । यस्तै सेनाकै नवीनले नेपाल पुलिस क्लबका विष्णु कटुवाललाई २१–९, २१–१६ ले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् । विजेताले नगद ४० हजार र उपविजेताले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । महिला तर्फ एपिएफकी शोभा गौचन र सेनाकी प्रार्थना देउवा संयुक्त तेस्रो भए । पुरुष तर्फ पुलिसका सुनिल जोशी र कालिकाका सुदीप सेढाई तेस्रो भए । तेस्रो हुनेले  १० हजार रुपैयाँ पाए ।
महांकाल ब्याडमिन्टन कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको शीर्ष २० बाहेकका पुरुष एकल तर्फका खेलमा महांकालका सुजन थापाले सेनाका हिमाल चन्दलाई २१–१७, ११–२१, २१–१८ ले पराजित गर्दै स्वर्ण जिते । उनले ट्रफी प्रमाण पत्र र नगद ३० हजार  प्राप्त गरे । यस्तै उपविजेता चन्दले नगद १५ हजार प्राप्त गरे । तेस्रो स्थानमा सेनका कबिर के.सी. र पुलिसका हिरा राई रहे । उनीहरूले १० हजार रुपैयाँ पाए ।
सोही विधाको महिला एकल तर्फ सुर्खेतकी सिस्ना श्रीपालीले सुर्खेतकै अग्रीमा भण्डारीलाई १३–२१, २१–१६, २१–११ ले पराजित गर्दै उपाधि कब्जा गरिन् । श्रीपालीले ३० हजार र भण्डारीले नगद १५ हजार प्राप्त गरिन् । तेस्रो स्थानमा नेपाल पुलिसका निकिता लामा र रिना तामाङले रहे । उनीहरूले १० हजार रुपैयाँ पाए ।
शीर्ष २० बाहेकको पुरुष युगल तर्फ एपिएफका प्रनिश सिंह ठकुरी र महांकालका सुजन थापाको जोडीले विजय प्राप्त ग¥यो । उक्त जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१८, २६–२४ को कठिन जित निकाल्यो । विजयी जोडीले नगद ३० हजार र उप विजयीले नगद १५ हजार प्राप्त गरे । युनिटि ब्याडमिन्टन एकेडेमीका निश्चल खत्री र श्रीजल पोखरेल तथा सेनाका हिमाल चन्द र सन्तोष पनेरुले तेस्रो हुँदै १० हजार रुपैयाँ पाए ।
लोकल पुरुष युगल तर्फ महांकालका आकाश जोशी र याविक श्रेष्ठको जोडी प्रमोद महर्जन र सुमन महर्जनको जोडी माथि हाबी भयो । जोशी र श्रेष्ठको जोडीले महर्जन जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । महर्जन जोडीले नगद १० हजार प्राप्त गरे । तेस्रो स्थान प्राप्त गरेका विपिन शाह र अमृत थापा तथा रामशरण के.सी. र दिवाकर पाण्डेको जोडीले १० हजार रुपैयाँ पाए ।
४५ वर्ष माथिको युगल जोडीमा कालिकाका रामशरण के.सी. र हरि कार्कीको जोडीले पिएफसीका सञ्जय कपाली र लाक्पा शेर्पाको जोडीलाई २१–१७, २४–२२ ले पराजित गर्दै उपाधि उचाले । विजयी खेलाडीले  ३० हजार र उप विजयीले नगद १५ हजार प्राप्त गरे । कीर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडी तथा हिरा रोक्का र टिका थापाको जोडी संयुक्त तेस्रो स्थान प्राप्त गर्दै १० हजार रुपैयाँ पाए ।
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि बागमती प्रदेश सांसद रमा आले मगरले पुरस्कार वितरण गरेकी थिइन् ।

Comment