नेपाल  समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले क्यानडालाई पराजित गरेको छ । सोमबार दिउँसो ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गरेको हो । ८१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्न सफल भयो ।
नेपालका लागि आरिफ शेखले १६ बलमा १७ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेल ३७ बलमा ३४ रनसहित र दिपेन्द्रसिंह ऐरी ३१ बलमा २७ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा ८० रन मात्र जोड्यो ।
क्यानडाका डिलन हेलिगरले २२ बलमा २४ रन जोड्दै नट आउट रहँदा नवनीत धालिवालले १४ बलमा १८ रन, र्यान पठानले ११ बलमा १४ रन र सलमान नजरले ९ बलमा १० जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले ३, कमल ऐरी र अविनाश बोहराले २ र कुशल मल्लले १ विकेट लिए । क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अङ्क जोड्न सफल रह्यो । यस्तै, ३ खेलमा ४ अङ्क जोडेर समूह उपविजेता बन्दै ओमानले पनि सेमिफाइनलमा स्थान बनाएको छ भने क्यानडा र फिलिपिन्स बाहिरिएको छ ।
नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग भोलि (मङ्गलवार) खेल्नेछ। ओमानको भेट  ‘ए’ को विजेता आयरल्यान्डसँग हुनेछ । फाइनल प्रवेश गर्ने दुई टोली अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।
Comment