काठमान्डु टिम च्याम्पियनको उपाधि टेलिकमलाई


राजधानीमा जारी कुमारी बैङ्क काठमान्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि नेपाल टेलिकमले जितेको छ ।
काठमाडौँ ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाइनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्न जित तामाङले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित हात पारे । दोस्रो खेलमा सिल्ककी अनु माया राई टेलिकमकी सीमा राजवंशीमाथि हाबी भइन् । राईले सीमालाई २१–१४, २१–१५ ले पराजित गरिन् ।  पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–५ ले हराए भने   महिला युगलको खेलमा टेलिकमकी सीमा राजवंशीको घुँडामा चोट बल्झे पछि रिटायर्ड हर्ट भई खेल छोडे पछि परिणाम २–२ को अवस्थामा पुगेको हो ।  निर्णायक खेल पुरुष युगलमा सिल्कका रमेश शेर्पा र विकास श्रेष्ठको जोडी तथा टेलिकमका हरि कृष्णन शर्मा र रत्न जित तामाङ्गविच भएको खेलमा पहिलो गेम रत्न र हरिकृष्णनले २१–१७ ले जित्दै टिमलाई १–० को अग्रता दिलाए । दोस्रो गेम पनि २२–२० ले जित्दै २–० का साथ उपाधिमाथि आधिपत्य जमाए ।
कुमारी बैङ्कको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपका विजयी टिमले १५ केजीको ८ लाख बराबरको चाँदीको चार सटल रहेको रनिङ्ग ट्रफीका साथ मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
नेपाल ब्याडमिन्टन सङ्घ, काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घको सहयोगमा भएको च्याम्पियनसिपको विजयी टिम तथा खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सचिव रामजी बहादुर श्रेष्ठ लगायतले ट्रफी, मेडल, प्रमाण पत्रका साथै गिफ्ट ह्याम्पर प्रदान गरे ।
करिब  ४९ लाख ४६ हजार लागत रहेको च्याम्पियनसिपमा खेलाडीहरूले दर्ता हुने बित्तिकै २० हजार प्राप्त गरे भने प्रत्येक खेलबापत थप २५ सय प्राप्त गरे ।

Comment