महोत्तरीमा उदयको सम्मान
Manoj Shiama
5 December, 2021 6:52 am

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको महोत्तरी जिल्ला ब्याडमिन्टन सङ्घले शनिवार ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याललाई सम्मान गरेको छ । सङ्घका पदाधिकारी र खेलाडी सहितको उत्साहजनक उपस्थितिमा जलेश्वरमा रहेको कभर्ड हलमा कार्यक्रम सहित अर्यालको सम्मान गरिएको हो । टोक्यो २०२०, प्यारालिम्पिक गेम्समा सहभागी भई नेपालको प्रतिनिधित्व गर्दै सफलताका साथ कार्य सम्पन्न गर्ने प्रथम नेपाली ब्याडमिन्टन प्राविधिज्ञ भएको हुँदा अर्याल लाई सम्मान गरिएको हो ।
कार्यक्रम महोत्तरी जिल्ला ब्याडमिन्टन सङ्घका उपाध्यक्ष महेश श्रेष्ठको सभापतित्व र अर्यालकै प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त समारोहमा समारोहका सभापति महेश श्रेष्ठले वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर अर्याल लाई महोत्तरी ब्याडमिन्टन सङ्घको कभर्डहलमा सम्मान गर्न पाउँदा महोत्तरी जिल्ला ब्याडमिन्टन सङ्घ थप उत्साहित भएको बताए । सोही समारोहमा सम्मानित हुने अर्यालले उक्त सङ्घले ब्याडमिन्टन खेलमा कुनै पनि समय उक्त हलमा आयोजना गरिने प्रतियोगिता मा आफ्नो तर्फ बाट सदैव यथा सक्दो साथ र सहयोग गर्न तयार रहेको बताए ।