चाँडै परिणाम आउछ ः सिलवाल

Manoj Shiama
11 July, 2019 6:38 am

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै हल हुने बताएका छन् ।
राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले भने– ‘तपाईंहरुको स्थायी हुनु पर्ने मागका विषयमा धेरै लामो समय कुर्नु पर्दैन । चाँडै परिणाम आउछ । मैले तपाईंहरुको समस्याका बारेमा विभागीय प्रमुखसंग छलफल गरिसकेको छ । यहि वर्ष भित्र समस्या हल गरेर तपाईंहरुले स्थायी हुनु पर्ने माग राख्दै गठन गरेको संघर्ष समिति भंग गर्ने छौं ।’ विगत लामो समयदेखि राखेपमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुले स्थायी हुनु पर्ने माग राख्दै आएका छन् ।
सदस्य–सचिव सिलवालले आफूलाई भेट्न आउदा समस्या मात्र नभइ त्यसको उपाय पनि संगै लिएर आउन बताउदै उचित सुझाव भए धाउनु पर्ने ठाँउमा आफू स्वयं धाउने प्रतिबद्धता व्यक्त गरे ।
निवर्तमान सदस्य–सचिव विष्टले करार कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा आफूले चार वटा समिति गठन गरेको स्मरण गर्दै त्यसलाई वर्तमान सदस्य–सचिवज्यूले पूरा गर्ने विश्वास व्यक्त गरे ।
निवर्तमान सदस्य–सचिव विष्टले आफू खेलकुद भन्दा कहिलै बाहिर रहन नसक्ने बताउदै खेल क्षेत्रमै योगदान दिन प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
‘खेलकुद भन्दा बाहिर जान्न । यहि क्षेत्रमा योगदान दिन प्रयासरत रहन्छु ।’ निवर्तमान सदस्य–सचिव विष्टले भने– ‘शिर ठाडो पारेर आएको थिए । शिर ठाडो पारेर जाँदैछु । यसमा मलाई दुःख छैन । ४ वर्षका लागि आएको थिए त्यो जिम्मेवारी पूरा गरेर गए ।’
राखेप करार तथा अस्थायी कर्मचारी संघका अध्यक्ष काजीमान श्रेष्ठले स्थायी हुनु पर्ने विगत लामोदेखिको माग वर्तमान सदस्य–सचिवको कार्यकालमा पूरा हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कर्मचारीहरुले नवनियुक्त सदस्य–सचिव सिलवाललाई फुल माला लगाइ स्वागत गरेका थिए भने अध्यक्ष श्रेष्ठले नि वर्तमान सदस्य–सचिव विष्टलाई मायाको चिनो प्रदान गरेका थिए ।

सदस्य–सचिवद्वारा अखेपको निरीक्षण
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको बुधबार निरीक्षण गरेका छन् ।
सदस्य–सचिव सिलवालले परिसर हातामा निर्माणाधीन हिटिङ पौडी पोखरी र चीन सरकारले मर्मत गरिदिएको पौडी पोखरीको निरीक्षण गरेका हुन् । हिटिङ पौडी पोखरीको निरीक्षण क्रममा सदस्य–सचिव सिलवालले निर्माण कार्यमा संलग्न पक्षसंग भुक्तानीका विषयमा चिन्ता नलिन भन्दै निर्धारित समयमा काम सम्पन्न हुनु पर्नेमा जोड दिए । त्यस्तै मर्मत सम्पन्न भएको पौडी पोखरीको निरीक्षण क्रममा सदस्य–सचिव सिलवालले चाँडो भन्दा चाँडो पोखरीमा पानी भर्ने काम सम्पन्न गरी साउन १ गतेदेखि नै प्रयोग गर्न मिल्ने गरी तयार गर्न अन्तर्राष्ट्रिय खेलकुद परिसर प्रमुख टेकबहादुर बमलाई निर्देशन दिए ।
पूर्वाधारले साग रोकिन्न ः
निरीक्षणअघि सदस्य–सचिव सिलवालले विभिन्न खेलका प्रमुख प्रशिक्षकहरुसंगको भेटमा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) पूर्वाधारका कारण नरोकिने बताउदै सबैलाई तयारीमा जुट्न निर्देशन दिए ।
उनले सागसंगै नवौं राष्ट्रिय खेलकुदको तयारी पनि सुरु गर्ने बताउदै लामो समय काम गरेको प्रशिक्षक भन्दा पनि परिणाम दिने प्रशिक्षक आफ्नो पहिलो रोजाइ हुने बताए ।