महिला राष्ट्रिय भलिबल बुटवलमा

dan
नेपाल भलिबल संघको आयोजनामा १९औं राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप रुपन्देहीको बुटबलमा हुने भएको छ । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगिता आगामी पुस १६ देखि १८ गतेसम्म हुनेछ । प्रतियोगितामा ५ विकास क्षेत्र, दुई विभागीय र एक विश्वविद्यालय गरी ८ टिमले सहभागिता जनाउने संघका अध्यक्ष दानबहादुर तामाङले जानकारी दिए । ८ वटा टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटमा प्रतियोगिता सञ्चालन गरिने छ । भलिबल संघको कार्यक्रमअनुसार रुपन्देही भलिबल संघको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । प्रतियोगितामा प्रथमलाई ५१ हजार, द्वितियलाई ३१ हजार र तृतीयलाई २१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि खेलाडीको छनोटसमेत हुने अध्यक्ष तामाङले जानकारी दिए । उनले बुटबल भलिबल संघका वरिष्ठ उपाध्यक्ष योग गुरुङलाई खेल सामाग्रीसमेत हस्तान्तरण गरे ।
यसैबीच आगामी पुस ४ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रथम साफ महिला भलिबल च्याम्पियनसिपको लोगो सार्वजनिक गरिएको छ । संघका अध्यक्ष तामाङ, उपाध्यक्ष मनोरञ्जन शर्मा र महासचिब जितेन्द्र चन्दले संयुक्तरुपमा लोगो सार्वजनिक गरेका हुन् ।

Comment