फिना पौडीमा नेपाल

swimming1
कतारको दोहामा हुने १२ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ३ देखि ७ तारिखसम्म हुने च्याम्पियनसिपमा २–२ पुरुष र महिला गरी ४ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । छोटो दूरीको पुलमा खेल हुनेछ ।
पुरुषमा शिरीष गुरुङले ५०, १ सय र २ सय मिटर फ्रिस्टायल तथा मिराज प्रजापतिले ५० र १ सय मिटर फ्रिस्टायल तथा ५० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ सोफिया शाहले पनि शिरीषले खेलेकै इभेन्ट्समा पौडीने छिन् । नेहारिका तुलाधरले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छिन् ।
व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य दीपकसागर सिंह छन् । खेलाडी र व्यवस्थापकको टोली सोमबार दोहा जाँदैछन् । टिम प्रशिक्षक शंकर कार्की भने गोल्ड मेडल कोचेज क्लिनिकमा पनि सहभागी हुनु पर्ने भएकाले दोहा गइसकेका छन् । क्लिनिक नोभेम्बर २९ तारिखदेखि सुरु भइसकेको छ । त्यस्तै पौडी संघकै अर्का सदस्य राजेन्द्र श्रेष्ठ एक्वेटिक कोभेन्सनका लागि दोहामै छन् । कन्भेन्सन नोभेम्बर २८ तारिखदेखि चलिरहेको छ ।
त्यस्तै डिसेम्बर ३ देखि ८ तारिखसम्म सञ्चालन हुने युवा विकास परियोजनामा सहभागी हुन दुई खेलाडीसहित ३ सदस्यीय टोली पनि दोहा जाने कार्यक्रम छ ।
उक्त परियोजनामा खेलाडीद्वय ओसिना भारती र देवेश मानन्धर तथा प्रशिक्षक युवराज सुनवार सहभागी हुन मंगलबार दोहा जाँदैछन् ।दुवै टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment