ह्यान्डबल टोली पाकिस्तान जाने

hand ball team

आईएचएफ च्यालेन्ज ट्रफी (जोन– २) को तेश्रो संस्करणमा सहभागी हुन ३६ सदस्यीय नेपाली ह्यान्डबल टोली सोमबार पाकिस्तानको फैसलावाद प्रस्थान गर्दैछ । जोन– २ मा दक्षिण एसियाका ८ राष्ट्र नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान, बंगलादेस र अफ्गानिस्तान तथा यमन गरी ९ राष्ट्र छन् ।
३६ सदस्यीय टोलीमा १४–१४ पुरुष÷महिला गरी २८ खेलाडी, २ अफिसियल, ४ प्रशिक्षक र २ निर्णायक छन् । यु–२१ पुरुष टोलीमा कर्मेन्द्र जैसी, सरुणमान श्रेष्ठ, रुपेश खड्का, अमृत थापा, अंकित क्षेत्री, सन्दिप खड्का, श्रीकृष्ण घर्ती, उदय बोगटी, विजय कार्की, चन्द्र केसी, सन्तोष मगर, अनिश गुरुङ, राजेश तामाङ र सुजन महर्जन छन् ।
यु–२० उमेर समूहमा प्रतिस्पर्धा गर्ने महिलामा जिना राई, निशा राई, कविता राई, सुस्मिता गुरुङ, अलिशा लामिछाने, कोपिला श्रेष्ठ, टीकामाया पुर्जा पुन, अनिमा नेपाली, रेसु राई, संगीता श्रेष्ठ, रमिला बस्नेत, सुजाता अधिकारी, लक्ष्मी राई र सपना राई रहेका छन् ।
अफिसियलमा मीठाराम अधिकारी र सन्देशकुमार रेग्मी, प्रशिक्षकमा रामेश सापकोटा, कृष्णबहादुर शाक्य, भैरव क्षेत्री र विन्दाकुमारी थापा तथा निर्णायकमा नवीन श्रेष्ठ र रञ्जना राई रहेका छन् । नेपाली प्रशिक्षक बिन्दाले नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने कुरामा आशाबादी भएको बताइन् । पछिल्लो समय पूर्वी भित्री तराइको जिल्ला उदयपुरबाट नेपाली ह्यान्डबल टोलीको पुर्नउत्थानको युगमा बिन्दाको योगदान महत्वपूर्ण रहेको थियो ।
दुई वर्षको अन्तरालमा हुने च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा भएको थियो । त्यसमा पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको थियो । नेपालमा भएको दोश्रो संस्करणदेखि महिला स्पर्धामा थपिएको हो । त्यत्ति बेला नेपालले महिलातर्फ तेश्रो स्थान हासिल गरेको थियो ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ६ राष्ट्रको सहभागिता रहेको नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङले जनाएका छन् ।
पुरुषतर्फ नेपाल सहित बंगलादेश र पाकिस्तान समूह ‘बी’ मा छन् । समूह ‘ए’ मा अफ्गानिस्तान, माल्दिभ्स, भारत र यमन छन् । महिलामा नेपाल समूह ‘ए’ मा छ । सो समूहमा अफ्गानिस्तान र भारत पनि छन् । त्यस्तै समूह ‘बी’ मा अफ्गानिस्तान, बंगलादेश र यमन छन् ।
पुरुषतर्फ नेपाली पुरुष टोलीले डिसेम्बर ३ तारिखमा पाकिस्तानसंग पहिलो खेल खेल्नेछ । त्यसै दिन नेपाली महिला टोलीले आफ्नो पहिलो खेलमा भारतको सामना गर्नेछ । प्रतियोगिताडिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुनेछ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment