पदक बिजेता खेलाडी सम्मानित

kheladi sammna2

मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरुलाई काठमाण्डौ जिल्ला खेलकुद विकास समितिले नगद पुरस्कार सहित सम्मान गरेको छ । काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव राज न्यौपानेको सभापतित्वमा आयोजित राष्ट्रपती रनिङ्गशिल्डको उद्घाटनको अवसरमा बिहिबार १६ खेलाडीहरुलाई समितिले सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा स्वर्ण पदक प्राप्त गर्ने फुपु ल्हामु खत्री (जुडो) र विराज महर्जन (फुटबल), रजत पदक प्राप्त खेलाडी सक्षम कार्की (तेक्वान्दो) र रोजा केसी (ट्राईयाथलन), उनले टिम ईभेन्टस्मा कास्य पदक समेत प्राप्त गरेकी थिईन् । यस्तै कास्य पदक प्राप्त गर्ने खेलाडीहरुमा भलिबलका प्रतिमा माली, कृपा अधिकारी र रेश्मा भन्डारी, आर्चरीका प्रेम प्रसाद पुन, खोखोका विक्कि राज महर्जन र पवन महर्जन, टेबलटेनिसका चन्दन शाही, दीप साउन, अम्मरलाल मल्ल, नविता श्रेष्ठ र एलिना महर्जन तथा कबड्डीका चन्द्रवती बिष्ट रहेका छन् । स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्नेले क्रमशः १०, ७ र ५ हजार नगद पुरस्कार प्राप्त गरेको काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दामोदर भट्टराईले जानकारी गराए ।
बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री सत्यनारायण मन्डलले नगद पुरस्कारका साथै प्रशंसा पत्र प्रदान गरेका थिए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ,सभासद् रामेश्वर फुयाल, ध्यानगोविन्द रञ्जित, परिषदका सदस्यहरु फत्तबहादुर गुरुङ्ग, शान्ति गुरुङ्ग, यान कुमारी गुरुङ्ग र नारायण प्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो ।

 

Comment