ओसिड नेपालका सन्तोष चौधरीलाई बुद्धिचाल उपाधि

_MG_4503
नेपाल बुद्धिचाल संघ, कन्सिन नेपाल तथा केन्द्रिय बाल कल्याण समितिको संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय अन्तर बालगृह रनिङशिल्ड बुद्धिचाल प्रतियोगिताको उपाधि ओसिड नेपालका सन्तोष चौधरीले हात पारेका छन् । अन्तिम चरणको खेलमा सहारा नेपालका रोसिम खड्कालाई हराउन सफल चौधरीले अपराजीत रहँदै ७ दशमलब ५ अंकमा प्रतियोगिताको सफल अन्त्य गरे । आठ चरणमा सम्पन्न प्रतियोगितामा उनले सातमा जीत तथा एकमा बराबरी गर्दै नगद १५ हजार समेत हात गरे ।
त्यसैगरी सहारा इन्टरनेशनलका रोसिम खड्का सात अंकका साथ दोश्रो स्थानमा रहँदै १० हजार नगद  प्राप्त गरे । समान सात अंक हात पारेका साथी नेपालका निपुन पुनले तेश्रो स्थानमा चित्त बुझाए । उनले आठौं चरणमा एसओएस भिलेजका शिव बहादुर कुमाले माथि जित हात पार्दै ८ हजार नगद प्राप्त गरे । डोक्स नेपालका राहुल शाही र मदरहुड नेपालका रामबहादुर शाहीले चौथो र पाँचौं स्थानमा रहँदै क्रमशः ७ हजार तथा ५ हजार नगद प्राप्त गरे ।
त्यस्तै साथी नेपालका किरण घले, ओशिड नेपालका हरेराम चौधरी, नेपाल चिल्ड्रेन होमका सुजन बुढा, कोपिला बालगृह पोखराका धिरज खत्री र एसओएस भिलेजका शिव बहादुर कुमाल छैठौं देखि दशौं स्थानमा रहन सफल भए ।
होपेड चाइल्डका निशान लिम्बु, ग्रामीण वस्ति विकास केन्द्रका चन्द्र गुरुङ, श्रीमद भागवदका प्रकाश भागवत, नेपाल चिल्ड्रेनका अरुण जिरेल, डोक्सका इन्द्रकुमार पाख्रिन, रंगीन होम पोखराका विक्रम गुरुङ, इस्टर बेन्जामिनका विजय कार्की, फ्रेस नेपालका  दिनेश दाहाल, अम्ब्रेला अर्गनाइजेशनका सुर्य तामाङ, प्रयास नेपालका हरीले एघारौंदेखि २० औं स्थान हासिल गरे ।
छात्रातर्फ प्रयास नेपालका रियाले प्रथम, साथी अर्गनाइजेशनका पुजा नेपाली दोश्रो तथा अम्ब्रेला अग्रनाइजेशनका जुमा बस्नेत तेश्रो भईन ।
नेपालका ३० वटा चिल्ड्रेन होम्सका १ सय ८३ जना खेलाडी सहभागी प्रतियोगिताका विजेतालाई नेपाल सरकारका पूर्व उर्जा मन्त्रि गोकर्ण विष्ट, फिडेका उपाध्यक्ष वियाट्रीज तथा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जोशी लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

Comment