बोगटी र वाल्टर शीर्ष स्थानमा

पोखरा ः
कास्की जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा पोखरामा जारी छैटौं कास्की खुल्ला बुद्धिचाल प्रतियोगिता–२०७१ अन्तर्गत आइतबार चौथो र पाँचौं चरणका खेल सम्पन्न भएका छन्।
पाँचौं चरणको खेल समाप्तिसम्म आइपुग्दा घनश्याम बोगटी र जोन वाल्टर समान पाँच अड्ढका साथ शीर्ष स्थानमा रहन सफल भएका छन्। अघिल्लो दिन पनि दुवै खेलाडी शीर्ष स्थानमै थिए।
बेलायतका तत्कालीन राष्ट्रिय खेलाडी डग्लास म्याक्लागनको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा बुद्धिसागर शर्मा, अम्बर गुरुङ, भरत लामिछाने, सुवास क्षत्री, युवराज भण्डारी, डग्लास मेक्लागन, रञ्जन कुँवर, आशिष घिसिङ र रामचन्द्र पुन समान चार अड्ढका साथ दोस्रो स्थानमा रहन सफल भएका छन्। भण्डारी, क्षत्री, मेक्लागन र घिसिङ अघिल्लो दिन दोस्रो स्थानमै थिए। दोस्रो स्थान ओगट्न सफल पुन र कुँवरले आइतबार राम्रो मेहनत गरे।
यस्तै अघिल्लो दिन शीर्ष स्थान ओगटेका महेश्वर अधिकारी र अनिलबहादुर कोइराला भने तेस्रो स्थानमा झरेका छन्। दुवैले समान साढे तीन अड्ढ जोडेका छन्। सोमबार छैटौं र सातौं चरणका खेलसँगै साढे चार बजे समापन कार्यक्रम एवं पुरस्कार वितरण हुनेछ।
समापनमा विश्व बुद्धिचाल महासङ्घका उपाध्यक्ष एवं अमेरिकन चेस एशोसिएसनका अध्यक्ष फिडे विट्रिज मोरिनेलो र नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशीको उपस्थिति हुने सङ्घका अध्यक्ष बाबुराम पन्तले जानकारी दिए। प्रतियोगितामा ६४ जनाको सहभागिता रहेको छ।
प्रतियोगितामा खुल्लातर्फ प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौंलाई क्रमशः १० हजार, छ हजार, चार हजार, दुई हजार र एक हजार तथा छैटौंदेखि दशौंसम्मलाई जनही पाँच सय प्रदान गरिनेछ। यस्तै यु–१६ महिला तथा सबै उमेर समूहका खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

Comment