प्रधान कार्यलय पहिलो

apf

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा संचालित ‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रनिङ्ग ट्रफि–२०७१’ सशस्त्र प्रहरी बल प्रधान कार्यालय टिमले हात पारेको छ । सो प्रतियोगिताको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले विजयी टिमका व्यवस्थापक दमन पाण्डेलाई शुक्रबार रनिङ्ग ट्रफि प्रदान गरे ।
संगठनले ब्याडमिन्टन, लनटेनिस तथा महिला भलिबल लगाएतका राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्दै आइरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले सशस्त्र प्रहरी दिवसको अवसर पारेर यो प्रतियोगिता संचालनको सुरुवात गरिएको पन्तले उल्लेख गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले खेल सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।     प्रतियोगिता अन्तर्गत फुटबलतर्फ शुक्रबार  रुद्र बाहिनी पथलैया टिम र बैद्यनाथ बाहिनी अत्तरिया कैलाली टिम बीच भएको फाइनल खेलमा रुद्र बाहिनी टिम एकको विरुद्ध दुई गोलले विजयी भयो ।
यसैगरी भलिबलतर्फ बराह बाहिनी पकली सुनसरी टीमलाई   मुक्तिनाथ बाहिनी पोखरा टिमले  २५–२२, २५–२०, २१–२५ र २५–१० ले हराउदै पहिलो भयोे ।    एथलेटिक्सतर्फ हाफ म्याराथन दौडमा रुद्र बाहिनी टिमका गणेशसिंह ठकुरीले उपाधि हात पारे ।  पाच हजार मिटर दौडमा पुरुषतर्फ सशस्त्र प्रहरी बल प्रधान कार्यालयका जितेन्द्र राईले उपाधि हात पारे । महिलातर्फ प्रधान कार्यालयकै सानुका थापा पहिलो भइन् ।
पुरुषतर्फको चारसय मिटर दौडमा बैद्यनाथ बाहिनीका डम्मरसिंह साउदले उपाधि हात पारे । महिलातर्फ सशस्त्र प्रहरी बल प्रधान कार्यालयकै नेविका चौधरी पहिलो भइन् । नेबीका भलीबलकी परिचित खलाडी हुन् ।    एथलेटिक्सतर्फ ११० मिटर हर्डल्समा बैद्यनाथ बाहिनीका सन्तबहादुर बुढा प्रथम भएका छन् भने सटपुटतफ रुद्र बाहिनीका प्रेमबहादुर हुन्चिङ्ग प्रथम भएका छन् ।
यसैगरी तेक्वान्दोतर्फको ५४ केजी, ५८ केजी र ६३ केजी तौल समूहमा क्रमशः मुक्तिनाथ बाहिनीका हरिसिंह भण्डारी, बराह बाहिनीका योगेन्द्र धिमाल र महेश्वरी बाहिनीका गिरीराज गिरी पहिलो भए ।  कराँतेको ५० केजी, ५५ केजी, ६० केजी र ७५ केजी तौल समूहमा क्रमशः बैद्यनाथ बाहिनी विजेन्द्र सुनार, सशस्त्र प्रहरी बल प्रधान कार्यालयका रुद्र पण्डित, बैद्यनाथ बाहिनीका जयराज अवस्थी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयका बुद्ध श्रेष्ठ प्रथम भएका छन् ।    हाईजम्प पुरुषतर्फ सशस्त्र प्रहरी बल प्रधान कार्यालयका यज्ञमान कुमालले उपाधि हात पारे ।    सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दो लगाएतका खेलहरु समावेश गरिएका थिए ।
सो प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयसहित, महानगरीय सशस्त्र प्रहरी कार्यालय, बराह बाहिनी, रुद्र बाहिनी, मुक्तिनाथ बाहिनी, महेश्वरी बाहिनी र वैद्यनाथ बाहिनी टिम गरी कूल सात टिमको सहभागिता रहेको थियो ।

Comment