दौडमा नेबीका पहिलो

apf sports 1
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पहिलो पल्ट संचालन भइरहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रनिङ्ग ट्रफि–२०७१’ अन्तर्गत बुधबार भएकोे फुटबल सेमिफाइनलमा  रुद्र बाहिनी पथलैया र बैद्यनाथ बाहिनी अत्तरिया टिम विजयी भएका छन् ।
रुद्र बाहिनीले बराह बाहिनीलाई २–१ ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । विजयी टिमका लागि दुवै गोल रुपबहादुर लामाले गरेका थिए । दोस्रो सेमिफाइनल खेलमा वैद्यनाथ बाहिनी अत्तरिया, कैलाली टिमले सशस्त्र प्रहरी बल प्रधान कार्यालय टिमलाई २–१ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । बिजयी बैद्यनाथ बाहिनी टिमका लागि मोहन आलेमगर र हेमन्त बोहराले गोल गरेका थिए ।
भलिबलको खेलमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले महानगरीय सशस्त्र प्रहरी कार्यालयलाई २३–२५, २६–२४, २५–१९ र २५–२३ ले पराजित गरेको छ भने सोही इभेन्ट्सको दोस्रो खेलमा महेश्वरी बाहिनीले रुद्रबाहिनीलाई २५–१९, २५–१९ र २५–२० ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । बराह बाहिनी र मुक्तिनाथ बाहिनी टिम यसअघि नै भलिबलतर्फको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
एथलेटिक्सतर्फका खेलहरु पुरुष ४ सय मिटर दौडमा बैद्यनाथ बाहिनीका डम्मरसिंह साउट प्रथम भए ।     यसैगरी महिला ४ सय मिटरतर्फको दौडमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयकी नेविका चौधरी प्रथम भइन् । नेबीका राष्ट्रिय भलीबल टोलीकी चर्चीत     स्पाइकर हुन् ।  तेक्वान्दो खेलतर्फ मुक्तिनाथ बाहिनीका हरिसिंह भण्डारी ५४ के.जी. तौल समूहमा प्रथम भए ।
तेक्वान्दोकै ५८ के.जी.तौल समूहमा बराह बाहिनीका योज्ञेन्द्र धिमाल प्रथम भए । ६३ के.जी.तौल समूहमा महेश्वरी बाहिनीका गिरीराज गिरी पहिलो भए ।     एक सय १० मिटर हर्डल्समा वैद्यनाथ बाहिनीका उत्तमबहादुर बुढा पहिलो भए ।
प्रतियोगिता कार्तिक २८ सम्म संचालन हुने छ ।

Comment