आर्मी पहिलो पटक टिम च्याम्पियन

karate team1
सर्वमान्य नेता स्व. गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा आयोजित ४४ औं राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल आर्मीले बुधबार जितेको छ ।
आर्मी ५ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ पहिलो पटक करातेमा टिम च्याम्पियन बन्यो । ५ स्वर्ण, २ रजत र ४ कांस्यसाथ नेपाल प्रहरी दोश्रो भयो । तेश्रो स्थानको एपीएफ क्लबले ४ स्वर्ण, ५ रजत र ३ कांस्य हात पा¥यो ।
गणेशमानसिंह शान्ति प्रतिष्ठान, नेपाल र नेपाल कराते महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा मुकुन्द्र महर्जन र महिलामा अनु अधिकारी उत्कृष्ट खेलाडी चुनिए । राष्ट्रिय टिमबाट खेलेका उत्कृष्टद्वय एपीएफमा आबद्ध छन् । पूर्वाञ्चलले अनुशासित टिमको उपाधि हात पा¥यो ।
चापागाउँमा भएको प्रतियोगिताको अन्तिम दिन पुरुषमा २ र महिलामा १ स्वर्णका लागि भिडन्त भयो ।
पुरुषको ५५ केजीमुनि प्रहरीका सोनाम लामा पहिलो भए । फाइनलमा उनले मध्यमाञ्चलका सन्जिव लामालाई पराजित गरे । आर्मीका मणिकुमार सुनुवार र पश्चिमाञ्चलका उमेश गुरुङ तेश्रो भए । ७५ केजीमुनि नेपाल प्रहरीमा आबद्ध राष्ट्रिय टिमका दिवस श्रेष्ठ पहिलो भए । उनले फाइनलमा एपीएफका वीरबहादुर रनेनीलाई हराए । मध्यमाञ्चलका शेखर श्रेष्ठ र आर्मीका हीरालाल चौधरी तेश्रो बने ।
महिलाको ६१ केजीमुनि आर्मीमा आबद्ध राष्ट्रिय टिमकी सनी तामाङले स्वर्ण चुमिन् । सनीले उपाधि भिडन्तमा सुदूरपश्चिमाञ्चलकी लक्ष्मी नाथलाई पाखा लगाइन् । प्रहरीकी सुनीता महर्जन र विश्वविद्यालयकी जस्मिन श्रेष्ठ संयुक्त रुपमा तेश्रो भए ।
विजेतालाई आयोजक गणेशमान सिंह शान्ति प्रतिष्ठान, नेपालका संरक्षक तथा उपप्रधान, स्थानिय विकास एवं संघीय मामिला मन्त्री प्रकाशमान सिंहले पुरस्कृत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले यस्तो प्रतियोगिताले खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै नयाँ पिढीलाई खेलमा आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।
तीनदिने प्रतियोगितामापाँच विकास क्षेत्र, प्रहरी, आर्मी, एपीएफ, विश्व विद्यालय र राष्ट्रिय टिम गरी १० टिमका २ सय २० खेलाडीले १७ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

Comment