दोश्रो दिन पनि राष्ट्रिय टिमकै दबदबा

mallika thapa1
सर्वमान्य नेता स्व. गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा आयोजित ४४ औं राष्ट्रिय कराते प्रतियोगिताको दोश्रो दिन मंगलबार पनि राष्ट्रिय टिमकै वर्चस्व रह्यो ।
दोश्रो दिन नौ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा राष्ट्रिय टिमका ६ खेलाडीले स्वर्ण जिते । एपीएफ, नेपाली सेना र मध्यमाञ्चलले १–१ स्वर्णमा चित्त बुझाए । पहिलो दिन ५ स्पर्धाको फाइनल भएकोमा राष्ट्रिय टिमले ४ र नेपाल प्रहरीले १ स्वर्ण आफ्नो नाममा लेखाएका थिए ।
गणेशमान सिंह शान्ति प्रतिष्ठान, नेपाल र नेपाल कराते महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ६७ केजीमुनि राष्ट्रिय टिम मुकुन्द महर्जन पहिलो भए । फाइनलमा उनले प्रहरीका गंगाराम कुसुवारलाई ११–३ ले पराजित गरे । ६० केजीमा राष्ट्रिय टिमका विनोद महर्जनले सेनाका सनी चौलागाईंलाई १३–५ अंकले हराउदै पहिलो स्थान कब्जा गरे । ८४ केजीमुनि राष्ट्रिय टिमका लेखनाथ मैनालीले बाजी मारे । उनले उपाधि भिडन्तमा एपीएफका भीमबहादुर तामाङलाई १२–६ ले निराश पारे ।
महिलाको ६८ केजीमुनि राष्ट्रिय टिमकी विभूषा थापाले शीर्ष स्थान हात पारिन् । विभूषाले फाइनलमा प्रतिद्वन्द्वी विश्वविद्यालयकी सिर्जना सापकोटालाई ८–० को नतिजामा पाखा लगाइन् । ५० केजीमा ११ औं सागकी रजतधारी राष्ट्रिय टिमकी अनु अधिकारीले स्वर्ण चुमिन् । फाइनलमा अनुले पूर्वाञ्चलकी दिना सुब्बालाई १३–३ ले पन्छाइन् । ५५ केजीमा राष्ट्रिय टिमकी मल्लिका थापाले फाइनलमा मध्यपश्चिमाञ्चलकी रविना साउदलाई १०–० ले हराउदै स्वर्ण चुमिन् ।
चापागाउँमा भइरहेको प्रतियोगिताको महिला ६८ केजीमाथि रिता कार्कीले सेनालाई पहिलो स्वर्ण दिलाइन् । फाइनलमा रिताले एपीएफकी मनीषा मोक्तानको चुनौती ९–१ ले समाप्त पारिन् । ४५ केजीमा कुसुम खड्का अब्बल बनिन् । एपीएफलाई पहिलो स्वर्ण दिलाउने क्रममा कुसुमले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई ७–२ ले फाइनलमा पछि पारिन् ।
पुरुषको ५० केजीमा मध्यमाञ्चलका वीरबहादुर तामाङले स्वर्ण जिते । उनले इन्चोन एसियाडमा सहभागी राष्ट्रिय टिमका विजय लामालाई ‘सुपेरिएरिटी’ का आधारमा हराए । निर्धारित समयको खेल ९–९ को बराबरीमा सकिएको थियो । प्रतियोगिताको अन्तिम दिन बुधबार ३ स्वर्णका लागि भिडन्त हुने आयोजकले जनाएको छ ।

Comment