जुडो खेलाडी छानिए

judo1
अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताकालागि नेपाल जुडो संघले १० खेलाडी शनिबार छनोट गरेको छ । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा भएको छनोट प्रतियोगिताबाट ७ पुरुष र ३ महिला खेलाडी छनोट गरिएको जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितले जनाएका छन् । आ–आफ्नो तौल समूहमा पहिलो भएका खेलाडीछनोट भएका हुन् ।
विभागीय खेलाडीको वर्चस्व रहेको छनोट प्रतियोगिता अन्तर्गत पुरुषको ६० केजी मुनि एपीएफका खेमबहादुर थापा, ६६ केजी मुनि नेपाल प्रहरीका जयदीप चौधरी, ७३ केजी मुनि नेपाली सेनाका जंगबहादुर सारु, ८१ केजीमुनि केन्द्रीय डोजोका मोहन सुनुवार, ९० केजीमुनि प्रहरीका श्रीराम मकाजु, १०० केजीमुनि सेनाका कालुमान तामाङ तथा १०० केजीमाथि केन्द्रीय डोजोका राजन जोशी छानिए ।
महिलाको ५२ केजी मुनि लीला अधिकारी, ६३ केजीमुनि प्रमिला खड्का तथा ७० केजीमुनि गंगा चौधरी छनोट भए । सबै विभागीय टोलीका हुन् । प्रमिला प्रहरीकी हुन् भने बाँकी दुई सेनाका हुन् ।
एकदिने छनोटमा ३२ पुरुष र १२ महिला गरी जम्मा ४४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता डिसेम्बर २ देखि ५ तारिखसम्म पाकिस्तानको लाहोरमा हुँदैछ ।

 

Comment